नगरपालिकामा काँग्रेसका प्रमुख बढी

नवलपरासी, ४ जेठ । नवलपरासीको नवलपुर क्षेत्रमा रहेको चार नगरपालिकामध्ये तीन वटा नगरपालिकाको अन्तिम मतपरिणाम आएको छ । जसमा मध्यविन्दु नगरपालिकामा मेयर/उपमेयर दुवै पदमा नेपाली काँग्रेस विजयी भएको छ ।

देवचुली नगरपालिकामा मेयरमा नेपाली काँग्रेस र उपमेयरमा एमाले तथा गैंडाकोट नगरपालिकामा मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी भएको छ ।

मध्यविन्दु नगरपालिकाको मेयरमा काँग्रेसका चन्द्रबहादुर राना विजयी भए । रानाले नेकपा एमालेका उम्मेदवार भीमलाल अधिकारीलाई नौ सय ३१ मतअन्तरले पराजित गरेका हुन् ।

काँग्रेसका चन्द्रबबहादुर रानाको पक्षमा १० हजार नौ सय ९६ मत रहेको थियो भने एमालेका भिमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत रहेको थियो ।

उपमेयरमा काँग्रेसकै उम्मेदवार ओमकुमारी महतो विजयी भइन् । ओमकुमारी महतो १० हजार ८ सय ३५ मत प्राप्त गर्दै मध्यविन्दु नगरपालिकाको उपमेयर पदमा विजयी भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत शिवराज शेढाइले जानकारी दिए ।

उपमेयरमा ओमकुमारी महत्तोले आठ सय दुर्इ मत अन्तरले जोगमाया महतोलाई पराजित गरिन् । एमालेकी जोगमायाले १० हजार ३३ मत प्राप्त गरिन् । १५ वडा रहेको मध्यविन्दु नगरपालिकामा १० वडामा जित निकाल्दै विजयी भएको छ । काँग्रेस २,३,४,५,८,९,१०,११,१२ र १५ नम्वर वडामा अध्यक्षसहित सदस्यहरुमा विजयी भएको छ ।

त्यसैगरी, एमाले वडा नम्वर १,६,७,१३ र १४ मा विजयी भएको छ । कुल ३३ हजार ४ सय ९८ मतदाता रहेको मध्यविन्दु नगरपालिकामा २५ हजार नौ सय ९६ मत खसेको थियो ।

देवचुली नगरपालिकाको मेयरमा काँग्रेस विजयी भएको छ । काँग्रेसका पूर्णप्रसाद श्रेष्ठले ८ हजार पां’च सय ७९ मत प्राप्त गरेर विजयी भएका हुन् । एमालेका हरिप्रसाद न्यौपानेले मेयरमा आठ हजार पाँच सय १० मत प्राप्त गरेका थिए । उनी नेकपा क्रान्तिकारी माओवादीबाट केही महिना अगाडि एमालेमा प्रवेश गरेका हुन् ।

उपमेयरमा एमालेका पार्वती तिवारीले आठ हजार सात सय ५१ मतका साथ विजयी भएका छन् । काँग्रेसका उपमेयर लक्ष्मी बस्ताकोटीले आठ हजार तीन सय ९२ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मेयरमा सत्यनारायण भुसाल र उपमेयरमा प्रेमा खनाल चुनावी मैदानमा थिए ।

त्यस्तै, नगरपालिका गैडाकोट नगरपालिकामा भने एमालेले मेयरमा जित हात पारेको छ । उपमेयरमा काँग्रेसकी विष्णुकुमारी कँडेल विजयी भइन् ।

गैडाकोट नगरपालिकामा एमालेका छत्रराज पौडेलले ११ हजार ३ सय २ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका गजेन्द्र आले ११ हजार ७८ मत प्राप्त गरेका थिए ।  उपमेयरमा काँग्रेसकी विष्णु सापकोटा (कँडेल) ले ११ हजार ५ सय ५५ प्राप्त गर्दै विजयी भएकी छिन् । प्रतिद्वन्दी नेकपा एमालेकी राधा पाण्डेले १० हजार ४ सय ५६ मत प्राप्त गरिन् ।

गैंडाकोट नगरपालिकाको १८ वटा वडामध्येमा नेपाली काँग्रेसले ९ वटा वडाको वडा अध्यक्ष पदमा विजयी हासिल गरेको छ । काँग्रेसले आठ वटा वडामा प्यानलसहित जित हासिल गरेको छ ।

एमालेले आठ वटा वडाको वडा अध्यक्ष पदमा जित हासिल गरेको छ । यस्तै एक वटा वडामा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ ।

मध्यविन्दु नगरपालिकामा पनि काँग्रेसले नै मेयर उपमेयर दुवैमा जित हात पारेको छ ।

- रामकुमार श्रेष्ठ