तनहुँमा को-को विजयी ?

तनहुँ, ४ जेठ। स्थानीय निर्वाचन अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन्।

विजयी थापाले दुर्इ हजार ५८९ मत ल्याएका छन्। थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तबहादुर केसीले दुर्इ हजार २४२ मत ल्याएका थिए।

त्यसैगरी उपाध्यक्षमा समेत काँग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भएकी छन्। उपाध्यक्षमा विजयी श्रेष्ठले दुर्इ हजार १६५ मत ल्याएकी छन्।

काँग्रेसले उक्त गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ जितेको छ भने एमालेले वडा नम्बर ३ जितेको छ।

त्यस्तै, देवघाट गाँउपालिकामा भने अध्यक्षमा एमालेका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका छन्। उपाध्यक्षमा भने काँग्रेसबाट उम्मेदवार रहेकी विमला थापाले एक मतले विजयी भएकी छन्। अध्यक्ष थापाले दुर्इ हजार ८७९ मत ल्याएका छन्।    त्यसैगरी, बन्दिपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अध्यक्ष थापाको दुर्इहजार ८६३ मतले विजयी भएका थिए। त्यस्तै उपाध्यक्षमा करुणा गुरुङ दुर्इहजार ६८३ मत ल्याएर विजयी भइन्।  भिमाद नगरपालिका प्रमुखमा नेकपा एमालेका मेखबहादुर थापा विजयी भए । उनले छ हजार चार सय ६४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पुष्प पराजुलीले छ हजार ८० मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकै शारदा खनालले छ हजार सात सय १२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका इन्दिरा खनालले पाँच हजार सात सय ७७ मत प्राप्त गरिन्। त्यस्तै, घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेका रनबहादुर रानाले तीन हजार ७३० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णुवीर थापाले दुर्इ हजार आठ सय १९ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै सरस्वती घिमिरे तीन हजार सात सय १३ मत प्राप्त गरी विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्जला अर्यालले दुर्इ हजार सात सय ६२ मत प्राप्त गरिन् । तनहुँको जेठो नगरपालिका व्यास नगरपालिकामा प्रमुख, उपप्रमुखसहित १३ वटा वडामा काँग्रेसको पूरै समूह विजयी भएको छ।

नगरपालिका प्रमुखमा १३ हजार ५६ मत प्राप्त गरी बैकुण्ठ न्यौपाने विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शंकरनारायण श्रेष्ठले नौ हजार ५९२ मत पाए ।

उपप्रमुखमा काँग्रेसकै मीरा जोशी १३ हजार २६० मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा-माओवादी केन्द्र्र)का अतिन्द्रकेशरी न्यौपानेले तीन हजार ४७७ मत पाइन् ।

व्यास वडा नं ४ बाहेक १३ वटा वडामा काँग्रेसको पूरै समूह विजयी भएको मुख्य निर्वाचन अधिकृत अमरराज पौडेलले बताए। वडा नं ४ मा भने एमालेले अध्यक्षसहित चार सदस्यमा विजय हासिल गरेको छ।

यसैगरी म्याग्दे गाउँपालिका अध्यक्षमा काँग्रेसकी माया राना चार हजार ५४२ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद श्रेष्ठले तीन हजार ४६१ मत पाएका छन् । उपाध्यक्षमा काँग्रेसकै बालकृष्ण घिमिरे चार हजार ५९२ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्ना घिमिरेले तीन हजार १५४ मत पाइन्। सोही गाउँपालिकाका वडा नं १, ३, ४ र ५ मा काँग्रेसबाट वडाध्यक्षसहित पूरै समूह र वडा नं २, ६ र ७ मा वडाध्यक्षसहित एमालेको पूरै समूह विजयी भएको निर्वाचन अधिकृत नवराज आचार्यले बताए।

- रासस