थरुहट आन्दोलनकारीको मुद्दा फिर्ता हुने

काठमाडौं, ४ जेठ। सरकारले थरुहट तराई/मधेस आन्दोलनमा सहभागीलाई लागेको मुद्दा फिर्ता गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइको मुद्दा फिर्ताका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्नेसमेत निर्णय गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बिहीबारबाटै व्यवस्थापिका-संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए। मन्त्रिपरिषद्ले यही वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक र निर्वाचनका क्रममा झडपमा मारिएका दोलखाका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति स्वरूप परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। पाठक र तामाङका छोराछोरीको लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्ने पनि निर्णय सरकारले गरेको छ।

यस्तै, प्रेस काउन्सिल नेपालको अध्यक्षमा धरानका पत्रकार भवानी बराललाई नियुक्त गरेको छ भने नेपाल प्रहरी र नेपाली सेनाको चिकित्सा क्षेत्रबाट आम नागरिकले समेत सेवा लिन पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। सरकारले ‘चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ ल्याउने निर्णय पनि गरेको सरकार प्रवक्तासमेत रहेका मन्त्री कार्कीले बताए।

- अादर्श समाज सम्वाददाता