लमजुङमा एमाले-माओवादी गठबन्धन दोस्रोमा

लमजुङ, ४ जेठ। चुनावी गठबन्धन बनाएका नेकपा एमाले र माओवादी केन्द्रले लमजुङमा पछिल्लो परिणाममा दुर्इ स्थानमा विजयी हासिल गरेको छ।

जिल्लाका कुल आठ स्थानीय तहमध्ये चारको अन्तिम मतपरिणाममा दुर्इमा काँग्रेस विजयी भएको छ भने नेकपा एमाले र माओवादी केन्द्रले एक एक स्थानमा प्रमुख जितेका हुन्।

संघीय लोकतान्त्रिक फोरम र नयाँ शक्ति पार्टीको चुनावी तालमेतले भने खास अर्थ राखेको देखिएन।

मध्यनेपाल नगरपालिकाको प्रमुख पदमा काँग्रेसका रमेश पाण्डे पाँच हजार नौ सय ६८ मत ल्याएर पाण्डेले विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनतर्फका माओवादी केन्द्रका मोहनहरि पौडेलले चार हजार पाँच सय ४७ मत ल्याएका थिए।

उपप्रमुख पदमा गठबन्धनका नेकपा एमालेका उम्मेदवार राजकुमार श्रेष्ठले पाँच हजार पाँच सय ६६ पाई विजयी भए भने काँग्रेसकी सीता शाहीले पाँच हजार तीन सय ३२ मत ल्याइन्।

नगरपालिकाको वडाध्यक्ष पदमा १ र २ को  काँग्रेसका क्रमशः चन्द्रमणि पौडेल र पदमबहादुर थापा, वडा नं. ३ र ४ को वडाअध्यक्षमा एमालेका क्रमशः नेत्रबहादुर बस्नेत र निर्मल गौतम, वडा नं. ५ को वडाध्यक्षमा काँग्रेसका बालकुमार जोशी निर्वाचित भए। ६ मा माओवादी केन्द्रका विष्णुभक्त पौडेल, ७ मा काँग्रेसका गगन घिमिरे, ८ मा एमालेका अमृत तामाङ, ९ कमा सूर्यबहादुर कुँवर, १० मा काँग्रेसका रामचन्द्र भण्डारी निर्वाचित भए।

गाउँपालिकातर्फ मस्र्याङ्दी गाउँपालिकाको अध्यक्ष पदमा एमालेका आर्जुन गुरुङ चार हजार सात सय १२ मतका साथ विजयी भए। उक्त गाउँपालिकामा काँग्रेस राप्रपाबीचमा तालमेल भएको थियो। सो पदका प्रत्यासी काँग्रेसका नरबहादुर गुरुङले तीन हजार आठ सय ११ मत ल्याएका थिए।

उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदबार होमबहादुर विकले चार हजार एक सय ५६ मत पाई विजयी हुनु भए भने सो पदकी काँग्रेस-राप्रपा तालमेलबाट राप्रपाकी दूधकाशी तामाङले दुर्इ हजार सात सय ८८ मत पाएकी छन्। नौ वटा वडा रहेको उक्त गाउँपालिकामा दुर्इ वटा वडामात्र काँग्रेसले जितेको छ।

यसैगरी, दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका छुपीमाया गुरुङले दुर्इ हजार चार सय १३ मतका साथ विजयी भइन्। गठबन्धनका सतीमाया तामाङले एक हजार सात सय ५६ मत प्राप्त गरिन्।

उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसका कमलप्रसाद धितालले दुर्इ हजार तीन सय ७३ मतले विवयी भएको छ।

एमालेका धनबहादुर गुरुङले एक हजार नौ सय २३ मत ल्याएका छन्। छ वटा रहेको उक्त गाउँपालिकाको ३ बाहेक अन्य सबै वडामा काँग्रेसका उम्मेदवार विजयी भएको छ।  १ मा मानसिंह गुरुङ, २ मा गोविन्द दवाडी, ४ मा धनप्रसाद गुरुङ, ५ मा सुरज गुरुङ र ६ मा सीताराम गुरुङ विजयी भए। वडा न. ३ मा एमालेका तिलबहादुर गुरुङ विजयी भए।

दोर्र्दी गाउँपालिकामा गठबन्धनतर्फका माओवादी केन्द्रका ओमबहादुर गुरुङले तीन हजार छ सय २४ मत ल्याई विजयी भएका छन् भने सो पदमा काँग्रेसका विच्छबहादुर गुरुङले तीन हजार तीन सय ५१ मत प्राप्त गरे।

उपाध्यक्षमा गठबन्धनतर्फका एमालेका दिलबहादुर घलेले चार हजार ७८ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निसा लामाले तीन हजार तीन सय चार मत ल्याए।

उक्त गाउँपालिकाको नौ वटा वडामध्ये चार वटामा एमाले, तीन वडामा काँग्रेस र दुर्इ वटामा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन्।

- अादर्श समाज सम्वाददाता