म्याराथन धावकको बिदाइ

पोखरा, ४ जेठ।आगामी मे २९ मा सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्म हुने तेञ्जिङ एभरेस्ट म्याराथनमा सहभागी हुने म्याराथन धावक टोलीलाई तमु प्ये ल्हु संघले बिदाइ गरेको छ।

धावक सोमबहादुर त्होजे तमु, सूर्यबहादुर थिम्चे तमु, अञ्जु ल्हों तमु र वविता प्हच्यु तमुलाई संघले बुधबार एक कार्यक्रम गरी बिदाइ गरेको हो।

संघका अध्यक्ष हितकाजी गुरुङ, प्रथम उपाध्यक्ष आइबहादुर तमु, पूव अध्यक्ष रुपबहादुर तमुलगायतले संघको झण्डा प्रदान गरेर उनीहरुलाई बिदाइ गरेका थिए।

उनीहरुले म्याराथन दौडका लागि अभ्यास गर्ने प्ये ल्हु संघ सांस्कृतिक संयोजक पोमबहादुर तमुले बताए। चार जना धावक तथा छ जना सहयोगी गरी समूहमा १० जना रहनेछन्।

ब्रिटिश आर्मीमा कार्यरत धावकले म्याराथन प्रतियोगिताअघि सांस्कृतिक कार्यक्रम गर्ने बताएका छन्। युकेको क्होइबो धीं निर्माणार्थ आर्थिक रकम संकलनका लागि सांस्कृतिक कार्यक्रम भएका हुन्। सामुदायिक भवनसहित कार पार्किङका लागि जग्गा खरिद तथा भौतिक संरचनाका लागि रकम संकलन गर्ने अभियानमा छन्।

संघका सल्लाहकार सदस्य सोमबहादुर तमुले युकेमा करिब २० करोड नेपाली रुपैयाँ मूल्य बराबरको जग्गा खरिद गर्न रकम संकलन गर्ने अभियानमा रहेको बताए।

उनले रकम संकलनका लागि विदेश तथा नेपालका विभिन्न शाखामा पत्राचार गरेको जानकारी दिए। हालसम्म सात करोड रुपैयाँ संकलन गरिसकेको तमुले बताए। मौलिक संस्कृतिमा आधारित नृत्य प्रस्तुत हुने संयोजक पोमबहादुर तमुले बताए।

संघको आयोजना र संघमा आबद्ध संघ संस्था, इकाइ, गाउँ समाज शाखाहरुको सहयोगमा जेठको २० गते सांस्कृतिक कार्यक्रम गर्ने बताइएको छ। सांस्कृतिक कार्यक्रमका लागि संघका द्वितीय उपाध्यक्ष पमबहादुर क्रोम्छे तमुको संयोजकत्वमा सात सदस्यीय उपसमितिको गठन गरेको छ। कार्यक्रममा प्रथम उपाध्यक्ष आइबहादुर तमुले म्याराथनबारे प्रकाश पारेका थिए।

संघका अध्यक्ष हितकाजी तमुको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष पमबहादुर क्रोम्छे तमुले स्वागत तथा सहसचिव लोकेन गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता