कास्कीमा एमाले प्रतिनिधिको बहुमत

पोखरा लेखनाथ महानगरसहित पाँच स्थानीय तह रहेको कास्कीमा चार गाउँपालिकाको मतगणना सकिएको छ।

बुधबारसम्म मादी, अन्नपूर्ण, माछापुच्छ्रे र रुपा गाउँपालिकाको मतगणना सकियो। चारमध्ये तीनमा एमालेले जितेको छ भने अन्नपूर्णमा काँग्रेस विजयी भयो। अन्नपूर्णको उपाध्यक्ष पनि एमालेले नै जितेको छ। मादी, रुपा र माछापुच्छ्रे गाउँपालिकाको प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवार विजयी भए।

अन्नपूर्ण अध्यक्षमा काँग्रेसका युवराज कँुवर, उपाध्यक्षमा सगुन गुरुङ, मादी अध्यक्षमा वेदबहादुर गुरुङ -श्याम) र उपाध्यक्षमा विष्णु पौडेल, रुपा अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुवा गुरुङ, माछापुच्छ्रे अध्यक्षमा कर्णगुरुङ र उपाध्यक्षमा कृष्णकुमारी देवकोटा विजयी भएकी हुन्।

चार गाउँपालिकामा ३९ वडा छन्। तीमध्ये १४ वडामा काँग्रेसले जितेको छ भने एमालेले २२ वडा जितेको छ। तीन वडाको अध्यक्षमा भने माओवादी केन्द्र विजयी भएको छ। वडा सदस्यतर्फ एमालेका ९९ जना निर्वाचित हुँदा काँग्रेसका ५२ जना निर्वाचित भए भने माओवादी केन्द्रका पाँच जना निर्वाचित भएका छन्।

गाउँपालिका र वडासहित हिसाब गर्दा काँग्रेसको तर्फबाट चार गाउँपालिकामा ६७ जना प्रतिनिधि निर्वाचित भए। एमालेको तर्फबाट एक सय २८ जना र माओवादीको तर्फबाट आठ जना निर्वाचित भएका छन्। विजयी उम्मेदवारलाई आइतबारसम्म बरबुजारथ गरी सक्ने कर्मचारीको तयारी छ। सबै गाउँपालिकामा गाउँपालिका र वडाध्यक्षका लागि छुट्टै कोठा, फर्निचर र गाडी व्यवस्था गरी सकिएको सम्बन्धित कार्यकारी अधिकृतले जानकारी दिएका छन्।

कास्कीमा अब देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मात्र अन्तिम मत परिणाम आउन बाँकी छ। हालसम्म सम्पन्न वडामा एमालेभन्दा काँग्रेसका प्रतिनिधि बढी छन्। २, ३ र ४ नम्बर वडामा काँग्रेसको प्यानल विजयी भएको छ। १ नम्बरमा भने एमालेको प्यानल विजयी भयो। ५ नम्बर वडामा यसअघि नै एमाले प्यानल विजयी भए पनि पुनःगणनाका लागि निवेदन परेपछि पुनःगणना थालिएको छ।

- प्रकाश ढकाल