पोखरामा एमाले अगाडि

पोखरा, २ जेठ। स्थानीय तहको चुनावपछि जारी मतगणनामा पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमाले अगाडि देखिएको छ। मतगणना भएको पाँच वडामध्ये एकमा काँग्रेस र एकमा एमाले विजयी भइसकेको छ। बाँकी तीनमध्ये दुर्इमा काँग्रेस र एकमा एमाले अगाडि छ। जारी मतगणनामा वडामा काँग्रेसको प्यानल अगाडि भए पनि महानगर प्रमुख र उपप्रमुखमा भने एमाले उम्मेदवारले बढी मत पाएका छन्।

मध्यरातसम्म प्रमुख पदका उम्मेदवार मानबहादुर जिसी काँग्रेसभन्दा ४ सय ७३ मतले अगाडि छन्। उनको ३ हजार ८ सय ५९ मत आउँदा काँग्रेस उम्मेदवार रामजी कुँवरको ३ हजार ३ सय ८६ मत छ। उपप्रमुखमा पनि एमाले अगाडि छ। एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ३ हजार ७ सय १ मत ल्याउँदा काँग्रेस उम्मेदवार सरस्वती गुरुङले ३ हजार १ सय ४६ मत पाएकी छिन्।

वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भयो। एमालेकी शारदा पराजुलीले ३ सय १७ मत बढी ल्याएर विजयी भइन्। उनले १ हजार १ सय १३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत पाए। खुल्ला सदस्यमा एमालेकै रुद्रप्रसाद चुवाई र साहारा प्रधान, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा महिला सदस्यमा प्रेमकुमारी साई निर्वाचित भएकी छिन्।

उक्त वडाबाट महानगर प्रमुखमा एमाले नै अगाडि छ। एमाले उम्मेदवार मानबहादुर जिसीले १ हजार ६५ मत पाउँदा काँग्रेस उम्मेदवार रामजी कुवँरले ८ सय ३१ मत पाए। उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ५४ मत ल्याउँदा काँग्रेस उम्मेदवार सरस्वती गुरुङले ८ सय ४६ मत पाएकी छिन्।

वडा नम्बर २ मा नेपाली काँग्रेसको प्यानल विजयी भयो। वडाध्यक्षमा काँग्रेसका रामेश्वर मल्लले एमालेका उम्मेदवार दीननाथ सुवेदीलाई ३ सय ७१ मतान्तरले पराजित गरे। मल्लको ९ सय ३४ मत आउँदा सुवेदीले ५ सय ६३ मत पाए। खुल्ला सदस्यमा गौतम विजुक्छे र प्रमोद पराजुली विजयी भए। महिला सदस्यमा गोमा सुवेदी र दलित महिला सदस्यमा पनि काँग्रेसकै सुनिता विश्वकर्मा विजयी भएकी छिन्। २ बाट नगर प्रमुख र उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवार अगाडि छन्। काँग्रेसका रामजी कुँवरले ८ सय २८ मत ल्याउँदा एमालेका जिसीको ६ सय ८० मत आएको छ। उपप्रमुखमा सरस्वतीको ७ सय ५९ र मञ्जुदेवीको ६ सय १७ मत छ।

वडा नम्बर ३ मा २ हजार ७ मतगणनामा काँग्रेस अगाडि छ। काँग्रेसका वडाध्यक्ष उम्मेदवार रवीन्द्रबहादुर प्रजुले ६ सय २४ मत पाएका छन् भने एमाले उम्मेदवार शशीधर पराजुलीले ४ सय ४८ मत पाए। वडा नम्बर ३ का वडा सदस्यहरुमा पनि काँग्रेस अगाडि छ। सदस्यमा काँग्रेसका रवीन कायस्थ र जितेन्द्र कायस्थ, महिला सदस्य लक्ष्मी पराजुली र दलित महिला सदस्यमा सवि परियार अगाडि छन्। ३ नम्बर वडाबाट महानगर प्रमुखमा काँग्रेस उम्मेदवार कुँुवरले ६ सय ७ मत पाएका छन् भने एमाले उम्मेदवार जिसीले ४ सय ९६ मत पाए। उपप्रमुखमा काँग्रेसकी सरस्वतीले ५ सय ८३ र एमालेकी मञ्जुदेवीको ४ सय ५२ मत छ। प्रमुखमा राप्रपाकी गीता गुरुङको १७ र संघीय समाजवादीका हुम तमुले ३ मत पाएका छन्।

४ नम्बर वडामा ६ सय मत गन्दासम्म एमालेभन्दा काँग्रेस अगाडि छ। काँग्रेसका वडाध्यक्ष उम्मेदवार शंकरप्रसाद बास्तोलाले २ सय ८१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्ण पराजुलीको २ सय ४३ मत छ। खुला सदस्यमा काँग्रेसकै सुवर्ण केसी, पुस्करबहादुर श्रेष्ठ, महिला सदस्यमा सरिता पराजुली, दलित महिला सदस्यमा विष्णुमाया परियार अगाडि छन्। वडा नम्बर ४ मा महानगर प्रमुख उम्मेदवार कुँवरले ३ सय २३ मत प्राप्त गर्दा एमालेका जिसीले २ सय ९ मत पाए। राप्रपाकी गीता गुरुङले १३ र संघीय समाजबादीका हुम तमुको ९ मत छ। उपप्रमुखमा काँग्रेस उम्मेदवार सरस्वतीको २ सय २, एमालेकी मञ्जुदेवीको १ सय ६८, माओबादी केन्द्रकी गोमा ढकालले २२, राप्रपाका रमेशबहादुर खत्रीले १४, नयाँ शक्तिकी लक्ष्मी खातीले ३ तथा स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाले १ सय ४५ मत प्राप्त गरेका छन्।

५ नम्बर वडामा एमालेले अग्रता लिएको छ। २ सय २ सय ९६ मत गन्दा वडाध्यक्षमा एमाले उम्मेदवार धनबहादुर नेपालीको १ हजार ४ सय १४ मत छ भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामजी कोइरालाको ७ सय ९४ मत छ। वडा सदस्यमा पुष्पराज बराल र उज्वल खत्री, महिला सदस्यमा अञ्जु केसी तथा दलित महिला सदस्यमा तारा विक अगाडि छिन्। २ हजार २ सय ९६ मत गणनामा ५ नम्बर वडाबाट महानगर प्रमुखमा एमालेका जिसीले १ हजार ४ सय ९ मत र काँग्रेसका कुँवरले ७ सय ९७ मत पाए। उपप्रमुखमा एमालेकी मञ्जुदेवीको १ हजार ४ सय १० र काँग्रेसकी सरस्वतीको ७ सय ५६ मत प्राप्त गरेकी छिन्। उपप्रमुखमै माओवादी केन्द्रकी गोमा ढकालको ४१ तथा स्वतन्त्र उम्मेदवार सिरोज कोइरालाको ३७ मत छ। प्रमुखमा संघीय समाजवादीका हुम तमुले १०, राप्रपाकी गीता गुरुङले २१ मत पाएका छन्।

क्षेत्रीय निर्वाचन कार्यालयले एकसाता अघि नै मतगणना सक्ने गरी तयारी गरेको छ। सोहीअनुसार कर्मचारी व्यवस्थापन भइसकेको कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

- प्रकाश ढकाल