दक्षिण कोरियाका पूर्व प्रम लि चीनका लागि विशेष दूत

सोल, १ जेठ। दक्षिण कोरियाले चीनका लागि आफ्नो देशको विशेष दूतमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री लि हाइ चानलाई नियुक्त गर्ने भएको समाचार छ।

दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति मून जाए इनले आफ्नो विशेष दूतका रुपमा चीनमा पूर्व प्रधानमन्त्री लि हाइ चानलाई सो पदमा नियुक्त गर्न लागेका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार योन योङ चानले सोमबार राजधानी सोलमा अयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ।

उनले भने, “दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री चानलाई वर्तमान राष्ट्रपति इनले चीनका लागि आफ्नो विशेष दूतका रुपमा पठाउन थाल्नुभएको छ।”

यसअघि पनि सन् २००३ मा उनलाई चीनको विशेष दूतका रुपमा नै पठाइएको थियो।

सन् २००३ मा दक्षिण कोरियाली राष्ट्रपति रो मु हायुनको समयमा उनलाई त्यहाँ सोही पदमा पठाइएको थियो।

पूर्व राष्ट्रपति हायुनको समयमा वर्तमान राष्ट्रपति मूनले उहाँको सहयोगीका रुपमा काम गरेको थियो। पत्रकार सम्मेलनमा प्रेस सल्लाहकार योनले भने, “लिले वर्तमान राष्ट्रपति मूनको इच्छा र रफ्तार मुताविक काम गर्ने भएकोले उनलाई सो पदमा पठाउन लागिएको हो।”

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले सोमबार प्रकाशन गरेको प्रेस विज्ञप्तिकाअनुसार उनले वर्तमान राष्ट्रपतिको कूटनीतिक विचार र विदेश नीतिलाई राम्रोसँग बुझ्नसक्ने भएकोले यो निर्णय गरिएको हो।

लिको चिनियाँ विषयमा बढी दखल छ। उनले अरुले भन्दा राम्रोगरी चिनियाँ अधिकारीसँग मिलेर काम गर्न सक्नुहुन्छ, उक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

यतिखेर उत्तर कोरियाले धेरै पटकसम्म नै आणविक परीक्षण गरिरहेको छ। यस्तो अवस्थामा दक्षिण कोरियाली यी विशेष दूतले चीनसँग पनि व्यापक मात्रामा कुराकानी गर्नुहुने बताइएको छ।

जसका कारण उत्तर र दक्षिणका बारेमा पछिल्लो समयमा आएका विरोधको पनि निकास निस्किनसक्ने अनुमान गरिएको पनि बताइएको छ।

- रासस/सिन्हृवा