कालिका माइक्रो बैंकको साधारणसभा

पोखरा, २४ वैशाख । स्याङ्जाको वालिङमा प्रधानकार्यालय रहेको कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको सातौं साधारणसभा सकिएको छ ।

बैंकका सञ्चालक समिति अध्यक्ष इ विष्णुप्रसाद पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बैंकले आर्थिक वर्ष २०७२/०७३ को वाषिर्क प्रतिवेदनमाथि छलफल, लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७३/७४ को लागि लेखापरीक्षक नियुक्ति एवं सञ्चालक समितिले प्रस्ताव गरेअनुसार बोनस सेयरको करबापतको १७ लाख १० हजार रुपैयाँ लाभांश वितरणको लागि स्वीकृति दिने प्रस्तावमाथि छलफल गरी निर्णय गरेको हो ।

कार्यक्रममा अध्यक्ष पौड्यालबाट विशेष प्रस्ताव चुक्ता पुँजी पाँच करोडको ६५ प्रतिशत तीन करोड २५ लाख रुपैयाँ बोनस सेयर स्वीकृत गरी बैंकको चुक्ता पुँजी वृद्धि गरी आठ करोड २५ लाख पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बताए ।

विशेष प्रस्तावमै हाल बैंकको १० जिल्ला कार्य क्षेत्र भएकोमा त्यसका अतिरिक्त पाँच जिल्ला बाग्लुङ, रोल्पा, सल्यान, सुर्खेत र डोटी कार्यक्षेत्र थप गर्ने तथा नेपाल राष्ट्र बैंकबाट ‘घ’ वका लघुवित्त बैंकलाई जारी गरिएको निर्देशनबमोजिम चुक्ता पुँजीको २५ लाख बराबर एक जिल्ला थप गर्न पाइने व्यवस्थाबमोजिम कपिलबस्तु, गुल्मी, अर्घखाँची, लमजुङ, मुस्ताङ, म्याग्दी, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुली, बारा, दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, बाजुरा, डडेलधुरा, बैतडी, दैलेख, जाजरकोट, बझाङ, रुकुम, रोल्पा, जुम्ला, मुगु, हुम्ला गरि थप २५ जिल्लामा सेवा विस्तारको लागि प्रबन्धपत्र नियमावली आवश्यक संशोधन गरेको जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बैंकको वित्तीय विवरण पेस गर्नुका साथै हाल ३८ वटा शाखा विस्तारसहित सेवा पुर्‍याइरहेको बैंकले आर्थिक वर्ष २०७३।०७४ को अन्तिम सम्ममा ४५ बढी शाखा विस्तार गरी सेवा प्रदान गरिने जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता