संग्रहालयमा कला कार्यशाला

पोखरा, २३ वैशाख। पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ५४ औं शृंखला शनिबार पश्चिम क्षेत्रीय संग्रहालय पोखरामा सम्पन्न भयो।

पश्चिम क्षेत्रीय संग्रहालयका प्रमुख सन्दीप खनालले वरिष्ठ कलाकार र अनुज कलाकारको कलालाई एकै ठाउँमा राख्न संग्रहालयभित्र एउटा ग्यालरी थप्न सकिने बताए।

कला कार्यशालाका सहभागी कलाकारलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार वुद्वि गुरुङले कलाकारले प्रकृतिसँग साक्षत्कार गनै पर्छ, तत्स्थानीय चित्राङ्कन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु नै कलाकार सफल हुनुको रहस्य उद्घाटन गरे।

तीसको दशकदेखि शुरु भएको तत्स्थानीय चित्राङ्कनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको बताए।

कार्यक्रममा कला नायक वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले अग्रज र अनुजहरु एउटै थलोमा बसेर कला सिर्जना गरिने हुनाले अनुजले यस्तो कला कार्यशालाबाट धेरै कुरा सिक्ने मौका मिल्ने बताए।

कला कार्यशालमामा वरिष्ठ कलाकार बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, यादवचन्द्र भुतेल, युवराज लामिछाने, ज्योति गुरुङ, हेमकान्ति गुरुङ, सन्तोष भण्डारी, उज्ज्वल अधिकारी, मिना गुरुङ, एलिटा गुरुङ, लक्ष्मी तिलिजा पुन, नेन्सिला गौचन र विदा शाक्यलगायत कलाकारले पानी रंग माध्यमको प्रयोग गरी प्रकृति र जीवन जगत्लाई कलामा उतारेका थिए।

परिवारका कोषाध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यशालाको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए भने स्वागत कला संयोजक मिलन हेमकान्ती गुरुङले गरेकी थिइन्।

- एजेन्सी