गजल सन्ध्याका पिताको ‘घाम डुब्नु अघि’ बजारमा

पोखरा, २३  वैशाख।गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष दिलिप दोषीको गजल सङ्ग्रह ‘घाम डुब्नुअघि’ शनिबार लोकार्पण गरिएको छ।

गजल सन्ध्या स्थापना गरेर गजलको उत्थानमा लागेका दोषीले संस्था स्थापनाको १५ वर्षपछि गजलको कृति लिएर बजारमा आएका हुन्।

कृतिको हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलि र गजलकार दोषीकी नातिनी एनाया जोशीले लोकार्पण गरे।

प्रमुख आमन्त्रित व्यक्तित्व अञ्जलिले पोखराका गजल माली दिलिप दोषीको गजल सञ्चयन लोकार्पण गर्न पाउनु हर्षको कुरा रहेको बताए। उनले सञ्चयनको बिक्रीबाट जम्मा भएको रकमबाट आर्जना फाउण्डेशनको अक्षयकोषमा वृद्धि गरी भविष्यमा छोरीको नाममा साहित्यिक पुरस्कार स्थापना होस् भन्ने शुभेच्छा व्यक्त गरे।

समालोचक असफल गौतमले मन्दिरमा रहेका गजुरले जसरी मन्दिरलाई सुशोभित तुल्याएका हुन्छन्, त्यसै गरेर एक सर्जकको साधनाले जीवनमा जोडिएका मानप्रतिष्ठा गजुर हुने र पुस्तकको खोल व्यापार गरेर झुण्डाइएका गजुरले कलंकमात्र निम्त्याउने भएकाले त्यसबाट सर्जक सधैँ सचेत रहनुपर्ने बताए।

कृतिबारे समीक्षा गर्दै उनले दोषीको कृति आजको दिनमा सार्वजनिक गरिनु संयोगमात्र नभएर छोरी आर्जनाप्रतिको सच्चा श्रद्धाञ्जली रहेको बताउँदै केही भाषागत त्रुटी रहे तापनि सञ्चयन नेपाली गजलको इतिहासमा सुन्दर भविष्य कोर्ने सम्भावना रहेको बताए।

दोषीका बालसखा सिर्द्धार्थ क्लबका पूर्व अध्यक्ष तथा चित्रकार कृष्णप्रसाद मसारीले स्रष्टा परिचय राख्दै उनको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्दै दोषी मिलनसार र कडा मिजासका समाजसेवी व्यक्तित्व रहेको बताए। गजलकार दोषीका माहिला भाइ राजेन्द्रकुमार श्रेष्ठले परिवारमा एउटा घाम डुबेको दिन हामीलाई ज्यादै पीडा भएको छ भन्दै भावविह्वल भएका थिए। कार्यक्रममा मञ्जुश्री असहाय संरक्षण केन्द्र चितवनका अध्यक्ष मञ्जु खाँणले बाबाको छोरी बितेर गए पनि उनीजस्ता छोरीले गजलकार दोषीको सपनालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरिन्।

काठमाडौंका साहित्यकार दुर्गा तिवारीले सञ्चयन सबैले एकपटक पढ्नै पर्ने धारणा राखिन्। गजलकार दोषीका बालसखा बाराही ४० समूहका सल्लाहकार तथा हाडजोर्र्नी चिकित्सक डा भरतबहादुर खत्रीले दुःखद् समयमा रचना गरेको गजल सञ्चयनले सबैको मन जित्ने र छोरी आर्जनालाई सच्चा माया गरेको ठहर्ने बताए। कार्यक्रममा गजल सन्ध्या पोखराका सल्लाहकार लक्ष्मण थापाले शुभकामना मन्तव्य राखेका थिए भने र्समपण साहित्य परिषद भरतपुर चितवनका अध्यक्ष उषा विष्णु तिवारी उषा, मुक्तक मञ्च पोखराका अध्यक्ष सरला लामिछाने सरुले  सञ्चयनबाट गजल वाचन तथा गायन गरेका थिए।

कृतिका सर्जक दिलिप दोषीले ५ वर्षसम्मका जीवनका आरोह, अवरोहका भाकालाई समेलेर गजलको माला उन्दा रगतको आँसु खसेको बताए। उनले सेती बाढीको घटनालाई बिर्सन नदिन गजल कृतिको जन्म भएको बताउँदै कमीकमजोरीमा प्रतिक्रिया दिन आग्रह गरे।

स्मरणरहोस्, गजलकार दोषीकी छोरी आर्जना श्रेष्ठको २०६९ वैशाख २३ गते शनिबारको सेती बाढीमा परेर ब्रम्हलीन भएको ६ वर्ष आरम्भ संजोगले वैशाख २३ गते शनिबार नै परेकाले उनको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो।

अध्यक्षको आसनबाट संस्थाका अध्यक्ष बिर्सना बस्नेतले संस्थापक अध्यक्ष र एकमात्र मानार्थ आजीवन सदस्य गजलकार दिलिप दोषीको गजल सञ्चयन प्रकाशन र लोकार्पण गर्न पाउँदा संस्था आफै सम्मानित भएको बताइन्। कार्यक्रममा संस्थाका सदस्य साधुराम लामिछानेले स्वागत र सह-सचिव केआर ढकालले सञ्चालन गरेका थिए।

- अादर्श समाज सम्वाददाता