अन्नपूर्ण इन्टरनेसनल कपोर्रेट ब्याटमिन्टन शुरु

पोखरा, २१ वैशाख। अन्नपूर्ण मिडिया नेर्टवर्कको आयोजनामा अन्नपूर्ण इन्टरनेसनल कपोर्रेट ब्याटमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेल बिहीबार पोखरामा शुरु भएको छ। पोखरा रंगशालास्थित ब्याटमिन्टन कबर्ड हलमा प्रतियोगिता शुरु भएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरिप्रसाद मैनालीले प्रतियोगिताको उद्घाटन गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मैनालीले यस क्षेत्रका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रस्फुटन गर्ने मौका दिएकोमा धन्यवाद दिए। उनले मिडिया हाउसले सामाजिक उत्तरदायित्व सम्झेर खेलकुद प्रतियोगिता गरी स्वास्थ्यमा पनि योगदान पुर्‍याएकोमा प्रशंसा गरे।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बौद्धिक खुराक पस्कँदै आएको अन्नपूर्ण मिडिया नेर्टवर्कले ब्याडमिन्टन प्रतियोगिता गरेर खेलाडीलाई हौसला दिएको विचार व्यक्त गरे। ब्याडमिन्टन संघ कास्की अध्यक्ष तथा समारोहका सभापति डम्बरसिंह गुरुङले काठमाडौं जान नसक्ने खेलाडीलाई पोखराबाटै छनोटको अवसर दिएको भन्दै खुसी व्यक्त गरे।

अन्नपूर्ण मिडिया नेर्टवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले ब्याडमिन्टन खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए। ‘यसपालिदेखि राजधानीबाहिर पनि छनोट प्रतियोगिता सुरु गर्‍यौं’-उनले भने-’आगामी दिनमा यसलाई अझै विस्तार गर्दै जानेछौं।’ खेलाडी नरबहादुर गुरुङले प्रतियोगिताले साँच्चीकै प्रेरणा दिएको बताए।

प्रतियोगितामा ८० जनाको सहभागिता छ । पुरुष सिंगल, पुरुष डबल र महिला एकल विधामा हुने प्रतियोगिताका विजेता र उपविजेता काठमाडौंका लागि छनोट हुनेछन्।

प्रतियोगिता राष्ट्रिय रेप|mी किरण कारञ्जितको नेतृत्वको प्राविधिक टिमले सञ्चालन गरिरहेको छ। यसअघि सुदूरपश्चिमाञ्चलस्तरीय क्षेत्रीय प्रतियोगिता धनगढीमा, मध्यपश्चिमाञ्चलस्तरीय नेपालगन्ज र पश्चिमाञ्चलस्तरीय बुटवलमा प्रतियोगिता सञ्चालन भइसकेको छ। क्षेत्रीयस्तरीय खेलमा प्रथम र दोस्रो स्थान हासिल गर्नेले प्रमाणपत्रसहित नगद पुरस्कारसमेत पाउनेछन। त्यसैगरी यहाँ छनोट भएका प्रथम र दोस्रो काठमाडौमा हुने अन्तिम चरणको खेल खेल्न पाउछन। उनीहरूले बाहिरी मुलुकका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन।

- एजेन्सी