उत्पादन र उत्पादकत्व व्यवस्थापन सम्बन्धी तालिम

पोखरा,२१ वैशाख। उत्पादनको गुणस्तर वृद्धि गर्न पोखराका व्यवसायीलाई उत्पादन र उत्पादकत्व व्यवस्थापन सम्बन्धी तालीम दिइएको छ।

तालीममा पोखराका करीब १९ जना अटो वर्क्ससँग सम्बन्धित तथा फर्निचर व्यवसायी सहभागी थिए।

पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आइडिआई) को आयोजना तथा गण्डकी अटोमेकानिकल वर्क्स एसोसियन र पोखरा फर्निचर एण्ड  फर्निसिङ व्यवसायिक संघको सहकार्यमा तालिमको आयोजना गरिएको हो।

बिहीबार पाँच दिने तालिमको समापन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले आफ्नो क्षमतालाई उजागर गर्न तालिम फलदायी भएको विश्वास व्यक्त गरे।

उत्पादनको  गुणस्तर सुधार हुन सके नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनको भनाई थियो। उत्पादन र राष्ट्रिय अर्थतन्त्रको विकासबीच अन्योन्याश्रीत सम्बन्ध रहेको चर्चा गर्दै उनले आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनु पर्नेमा जोड दिए।

तालिमका प्रशिक्षक रामप्रसाद तिवारीले उत्पादनलागत कम गर्दै उत्पादकत्व अभिवृद्धिको लागि तालिमको आयोजना गरिएको बताए।

ज्ञान, सीप र तालिमप्राप्त व्यक्ति बजारमा सजिलै बिक्ने भएकोले दक्षता अभिवृद्धिमा ध्यान दिन उनले व्यवसायीलाई आग्रह गरे।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको सञ्चालन तथा कोषाध्यक्ष पवनकुमार प्रजापतिको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा सहभागीका तर्फबाट यामनाथ आचार्य र विनोद भट्टराईले पनि बोलेका थिए।

- एजेन्सी