तनहुँ सेती आयोजनाको ५० प्रतिशत बढी मुआब्जा वितरण

काठमाडौं, २० वैशाख। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् आयोजनाले हालसम्म ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण गरेको छ।

आयोजनाको प्रभावित एवम् डुबान क्षेत्रका प्रभावितलाई वितरण गर्नुपर्ने रु ६० करोड मुआब्ज्ामध्ये हालसम्म रु ३२ करोड मुआब्जा वितरण गरिएको हो।

मङ्गलबार र बुधबार गरी थप रु ११ करोड मुआब्जा वितरण भएपछि घरधुरी र डुबान क्षेत्र प्रभावितको आधारमा समेत ५० प्रतिशत भन्दा बढी मुआब्जा वितरण भएको आयोजनाका सञ्चार विज्ञ सचेन गौतमले जानकारी दिए। यसअघि रु २१ करोड मुआब्जा वितरण भइसकेको छ।

कुल एक सय ४० मेगावाट क्षमताको सो आयोजनाको जलाशयबाट डुबानमा पर्ने जग्गाको मुआब्जा र त्यसमा रहेका घर, गोठ, टहरा, फलफूल तथा रुख बिरुवाको क्षतिपूर्र्ति वितरण गरिएको आयोजनाले जनाएको छ।

आयोजनाले गत  फागुन ५बाट मुआब्जा वितरण सुरु गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा मुआब्जा वितरणका लागि रु ४२ करोड विनियोजन गरेको छ।

डुबान क्षेत्रमा पर्ने करिब एक हजार दुर्इ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने छ। यसका लागि करिब रु ६० करोड लाग्ने अनुमान गरिएको छ।

आयोजनाको बाँध बनेपछि बन्ने जलशायले तनहुँका भिमाद, माझकोट, ऋषिङ रानीपोखरी, साभुङ भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रका जग्गा डुबानमा पर्नेछन्।

आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वाषिर्क औसत विद्युत् उत्पादन ५८ करोड ७७ लाख युनिट र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने छ। बढी बिजुली माग हुने हिउँदमा आयोजना ६ घन्टा पूर्ण क्षमतामा अर्थात एक सय ४० मेगावाट क्षमतामा सञ्चालन हुनेछ।

आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ। यो लागत निर्माण अवधिको ब्याज, प्रशारण लाइन निर्माण र ग्रामीण विद्युतीकरण सहितको हो।

आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको आठ करोड ६० लाख, एसियाली विकास बैकको १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बंैकको आठ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहेको छ।

- रासस