पाँचौं राष्ट्रिय दोहोरी अवार्डको तयारी

पोखरा, १९ वैशाख। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपाल उपत्यका समन्वय समिति, काठमाडौंको आयोजनामा असार १७ गते पाँचौं संस्करणको राष्ट्रिय लोकदोहोरी अवार्ड-२०७४ हुने भएको छ।

अवार्डबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार सम्मेलनमा समन्वय समितिका अध्यक्ष पिएन सापकोटाले ३१ विधामा अवार्ड वितरण गरिने जानकारी दिए।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी र कास्की जिल्ला कार्यसमितिको संयोजनमा भएको पत्रकार सम्मेलनमा उक्त अवार्ड समारोह काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

३१ विधामध्ये २७ विधामा प्रतिष्पर्धा हुनेछ भने यसबाहेक लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट सदाबहार गीत, कोरस गायन सम्मान, दशकका स्रष्टा सम्मान गरी अवार्ड वितरण गरिनेछ ।

अवार्डले नेपाली लोकदोहोरीलाई परिष्कृत र मर्यादित बनाउनुका साथै मौलिकतालाई संरक्षण र उजागरमा महत्त्वपूर्ण योगदान पुर्‍याएको सापकोटाले जानकारी दिए।

‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूलमन्त्रका साथ क्रियाशील प्रतिष्ठानको उपत्यका समन्वय समितिले २०६९ सालदेखि लोकदोहोरी अवार्ड वितरण शुरु गरेको हो।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय कार्यसमितिका शिव हमाल, चोलेन्द्र पौडेल, प्रीति आले, गण्डकी अञ्चल अध्यक्ष शंकर विरही गुरुङ, महासचिव सुरेन्द्र गुरुङलगायत बोलेका थिए।

- एजेन्सी