‘छोरीको देश’ बजारमा

पोखरा, १८ वैशाख। कवि डा वसन्त गौतमको ‘छोरीको देश’ कविता संग्रहको पोखरामा सोमबार लोकार्पण भएको छ।

कृतिको कवि तीर्थ श्रेष्ठ र कवि वसन्तकी छोरी आर्या गौतमले लोकार्पण गरेका हुन्।

लामो समयदेखि साहित्य कर्ममा लागेका गौतमले पहिलो कविता कृतिका रूपमा ‘छोरीको देश’ पाठकसामु ल्याएका हुन्।

लोकार्पणपछि कवि तीर्थले कविता लेखन शुरु गर्न सजिलो लाग्ने भएपनि लेखिरहन जटिल भएको बताए।

‘एउटा उत्साह र रहरले कविता लेखन आरम्भ हुन्छ’- उनले भने-’एउटा विन्दुमा पुगेपछि त्यही रहर निरन्तरताको जिम्मेवारी बन्छ।’ सहज लाग्दो जटिल बाटोमा कवि वसन्त आइपुगेको उनको भनाइ थियो। कृतिको समीक्षा गर्दै कवि जीवनसागर भण्डारीले कुरूप राजनीतिक संस्कार, असमान सामाजिक संस्कार र मानवीयहिनतामाथि कविले छोरीको देशमार्फत प्रहार गरेको बताए। कविको परिचय दिँदै डा चैतन्य अधिकारीले काठमाडौंमा जन्मेर पोखरालाई कर्मथलो बनाएका गौतमलाई पोखराले नै कविको परिचय दिएको बताए।

कृतिकार वसन्त गौतमले कृतिलाई अहिलेसम्मकै कविताकर्मको उपलब्धीका रूपमा आफूले ‘छोरीको देश’ लाई हेरेको बताए।

‘नेपालमै छँदा साहित्यमा बढी आकषिर्त भएँ। तर धेरै कविता देशबाहिर रहँदा लेखेँ। देशबाहिर हुँदा बढी देश सम्झने रहेछ। देश दुख्ने रहेछ’-कवि गौतमले भने।

पोखरेली युवा सांस्कृतिक परिवारले प्रकाशित गरेको कृतिमा दुर्इ दशकको अन्तरालमा लेखिएका ६९ कविता समेटिएका छन्।

सांस्कृतिक परिवारका अध्यक्ष दीपक समीपको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा इश्वरमणि अधिकारी र अमृत सुवेदीले गौतमको कविता वाचन गरेका थिए।

कार्यक्रममा सचिव अर्जुन अधिकारीले सञ्चालन र उपाध्यक्ष प्रकाश ज्ञवालीले स्वागत गरेका थिए।

- एजेन्सी