ट्राइयाथलनमा भारत च्याम्पियन

पोखरा, १६ वैशाख। पर्यटकीय नगरी पोखरामा शनिबार भएको पाँचौं दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसीप २०१७ को उपाधि भारतका गुरुदत्तले जितेका छन्। महिलातर्फ भारतकै पल्लवी रेतिवालाले हात पारिन्।

गुरुदत्तले ७५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड ५४ मिनट ५१ सेकेन्डमा पूरा गर्दै १२ औं दक्षिण एशियाली खेलकुदमा प्रथम स्थान हात पारेका भारतीय खेलाडी दिलीप कुमारलाई पछि पार्दै उपाधि जितेका हुन्।

दोस्रो दिलीपले ५५ मिनेट ५९ सेकेन्डमा दुरी पूरा गरे भने तेश्रो नेपालका वसन्त थारुले मेडल जिते। उनले उक्त दुरी ५६ मिनट १२ सेकेन्डमा पूरा गरे।

यस्तै, महिलातर्फको प्रतिस्पर्धामा १२ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण धारी पल्लली रेतिवालाले १ घन्टा १ मिनट ३ सेकेन्ड समयका साथ उपाली कब्जा गर्दै उपाधि जितेकी हुन्।

नेपालकी सोनी गुरुङ र रोजा केसी क्रमशः दोस्रो र तेस्रो भए। रोजाले १२ औं दक्षिण एशियाली खेलकुदमा तेश्रो भएकी थिइन्। प्रतिष्पर्धामा सोनीले निर्धारित दुरी १ घन्टा ६ मिनट २ सेकेन्ड र रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा पूरा गरे।

यस्तै छ्रैटौं राष्ट्रिय ट्राइयाथलन प्रतियोगितामा नेपाल आर्मीले पुरुषतर्फको तिनै स्थान हात पारे। सेनाका वसन्त थारुले ५६ मिनट १२ सेकेन्डमा साथ स्वर्ण पदक प्राप्त गरे।

दोश्रो हिमाल टमाटाले ५८ मिनट १ सेकेन्ड र तेश्रो रुद्र कटुवालले ५८ मिनट ४८ सेकेन्डमा पूरा गरे।

महिलातर्फ राष्ट्रिय प्रतिस्पर्धामा एपिएफकी सोनी गुरुङले स्वर्ण पाइन्। उनले १ घन्टा ६ मिनट २ सेकेन्डमा दूरी पुरा गरिन्। दोश्रो स्थानमा रहेकी रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा दुरी पूरा गरिन् भने तेश्रो नेपाली सेनाकी यमकुमारी भुजेलले १ घन्टा १८ मिनट ५९ सेकेन्डमा दूरी पुरा गरिन्।

फेवातालमा भएको च्याम्पियनसीपको दुवाथलनतर्फको प्रतिस्पर्धामा नेपाली सेनाका मानबहादुर थापाले स्वर्ण पाए। एपिएफका किरण कुमार मल्लले रजत र सेनाका अच्युत पराजुलीले कास्य पाए।

महिलातर्फ आर्मीकी मञ्जुकुमारी खड्काले स्वर्ण र पुष्पाकुमारी भण्डारीले रजत पाइन्।

जुनियर पुरुषतर्फ काठमाडौका नितेश मानन्धरले स्वर्ण  देवेश मानन्धरले रजत पाए। महिलातर्फ रोजाले स्वर्ण जितिन्।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले च्याम्पियनसीप उद्घाटन गर्दै पोखरालाई पर्यटकीय साहसिक खेलकुदको क्षेत्र बनाउन सरकारको तर्फबाट आफू लागिपर्ने बताए। उनले पोखरालाई ट्राइयाथलन खेलकुद क्षेत्र बनाउन लागिपर्ने भन्दै निजी क्षेत्रलाई पनि यस क्षेत्रलाई पर्यटकीय खेलकुद क्षेत्र स्थापनाको लागि पहल गर्नुपर्नेमा जोड दिए।

नेपाल ट्राइयाथलन संघका महासचिव नीलेन्द्रराज श्रेष्ठले नेपालमा दक्षिण एशियाली च्याम्पियनसीप निरन्तरता प्रदान गर्दै यस संस्करणसम्म आइपुगेको भन्दै यस च्याम्पियनसीप दक्षिण एशियाली ट्राइयाथलनमा निकै नै महत्वपूर्ण रहेको बताए।

विजयी खेलाडीलाई लेफि्टनेन्ट कर्णेल उज्वल थापा, बंगलादेश ट्राइयाथलन संघका महासचिव मि.महमुद, केन्द्रिय उपाध्यक्ष दीपक कोइराला, कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष सुमन देवकोटालगायतले पुरस्कार वितरण गरेका थिए। च्याम्पियनसीपमा नेपाललगायत भारत र बंगलादेशका गरी ६० खेलाडीहरुले सहभागिता जनाएका थिए।

- अादर्श समाज सम्वाददाता