एमालेनिकट कलाकारको अन्तक्रिर्या

पोखरा, १२ वैशाख। नेकपा एमाले स्थायी समितिका सदस्य किरण गुरुङले समृद्ध नेपाल निर्माण एमालेको योजना भएको बताएका छन्। उनले एमालेको अभियान समृद्ध नेपाल सुखी नेपाली अभियानलाई मूर्तरूप दिन स्थानीय तहको निर्वाचनमा एमालेले जित्नुपर्ने बताए।

प्रगतिशील लोकदोहोरी गीत समन्वय समिति प्रदेश नम्बर ४ द्वारा आयोजित चुनावी गीत विमोचन तथा अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले निवाचनमा एमालेलाई जिताउन कलाकारको भूमिका महत्वपूर्ण हुने बताए। कलाकारको हकअधिकार सम्बोधन गर्न रोयल्टी दिने व्यवस्था संविधानमै ब्यवस्था गरिएको उनले बताए।

संसद विकास समिति सभापति रवीन्द्र अधिकारीले कलाकारका समस्याबारे गम्भीर रहेको बताउँदै कलाकारलाई रोयल्टीको ब्यवस्था गरिएको बताए। उनले पाएका अधिकारमा सन्तुष्ट हँुदै नयाँ अधिकार प्राप्तिका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए। लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष प्रजापति पराजुलीले कलाकारले गीतमात्रै नगाउने र राजनीतिमार्फत योगदान दिने बताए।

प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेले कलाकार पनि पढेका र बौद्धिक रहेको बताउँदै निर्वाचनमा भूमिका दिन आग्रह गरे।

कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मनकुमार श्रेष्ठ, कलाकार कृष्ण भण्डारी, सुरेन्द्र गुरुङलगायतले कलाकारलाई गहनाका रूपमा उपयोग गर्न आग्रह गरे।

वनभोजको अवसरमा भएको उक्त कार्यक्रममा प्रदेश नम्बर ४ अन्तर्गत विभिन्न जिल्लाका कलाकारको सहभागिता थियो। उक्त अवसरमा कलाकारले गीत, नृत्य तथा हाँस्य प्रहसन प्रस्तुत गरेका थिए।

कार्यक्रम प्रगतिशील लोकदोहोरी गीत समन्वय समितिका संयोजक जीवन दाहालको अध्यक्षतामा भएको हो।

- अादर्श समाज सम्वाददाता