सयपत्री साकोसको कर्मचारी उत्प्रेरणा

पोखरा, १० वैशाख। सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा लेखनाथ-११, ले कर्मचारी उत्प्रेरणा  र नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

कार्यक्रममा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीलाई संस्थाका अल्पकालिन एवं दीर्घकालिन लक्ष्य प्राप्तिका लागि योजनावद्ध तरिकाले कार्य सम्पादन गर्ने विषयमा छलफल गरिएको थियो।

संस्थाका प्रबन्धक विकास सुवेदीले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थामा कार्यरत कर्मचारीलाई वाषिर्क उपलब्धी प्राप्तिका लागि आ-आफ्नो ठाउँबाट सक्रिय योगदान पुर्‍याउन अनुरोध गरे।

संस्थाका प्रबन्ध सञ्चालक धर्मप्रसाद बास्तोलाले कर्मचारिलाई सदस्यमुखी सेवालाई सम्मानजनक एवं विश्वासनीय तरिकाले सेवा प्रदान गर्न उत्प्रेरित गरे।

संस्थाका संचालक अध्यक्ष विश्वराज बास्तोलाले बचत तथा ऋण सहकारी संस्थाले सम्पादन गर्ने सेवा सयपत्री सकोसकातर्फ बाट उत्कृष्ठ रूपमा हालसम्म गर्दै आएको र यो सेवालाई जिल्लाभर का सेवाग्राहीमा नमूनाको रूपमा भावी दिनमा पनि पुर्‍याउन कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने भएकाले सम्पूर्ण कर्मचारी यसतर्फ जिम्मेवार भई कार्य गर्न निर्देशन दिए। कार्यक्रम संचालक संस्थाका सचिव भीमप्रसाद न्यौपानेले संस्थाका कर्मचारीले पालना गर्नुपर्ने संस्थागत अनुशासन एवं व्यक्तिगत आचरणले संस्थालाई सकारात्मक प्रभाव पार्ने हुँदा कर्मचारी एवं संचालकले सो विषयमा गम्भिर हुन सकेमामात्र संस्थाको भविष्य उज्ज्वल हुने बताए। कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिश्चन्द्र बास्तोलाले स्वागत मन्तव्य राखेका थिए।

- एजेन्सी