शुभकामना कप उपाधि लेकसाइड एफसीलाई

पोखरा, ९ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लेकसाइड एफसीले हात पारेको छ।

शनिबार भएको फाइनलमा सत्य युवा क्लब बाँझापाटनलाई २-० गोलअन्तरले पराजित गर्दै लेकसाइड एफसीले उपाधिसहित एक लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता सत्यले ७५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पायो ।

खेलमा लेकसाइड एफसीतर्फबाट सञ्जय बुढाथोकी र अशोक थापाले गोल गरे। फाइनलमा लेकसाइड एफसीका अशोक थापा म्यान अफ दी म्याच घोषित भए।

खेल अवधिभर सर्वाधिक गोल गरेका लेकसाइड एफसीका सञ्जय बुढाथोकी -सात गोल) ले हाइस्कोररको उपाधि पाए।

यस्तै, विधागत पुरस्कारतर्फ वेष्ट गोलकिपर लेकसाइडका सन्देश गुरुङ, वेष्ट डिफेन्डर लेकसाइडकै आशीष गुरुङ, वेष्ट मिडफिल्डर सत्यका उत्तम गुरुङ, वेष्ट स्ट्राइकर सत्यका रिजन सुब्बा, वेष्ट कोच लेकसाइडका विनय पहारी, वेष्ट प्लेयर लेकसाइडका सुभाष गुरुङ र अनुशासित टीमको उपाधि हेमजा युनाइटेडले हात पारेको छ।

विजयीलाई एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङ, वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, प्रतियोगिताका सहयोगी सन्तोष क्षेत्री, लक्ष्मी कुँवर, पोले-२५ वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार चिरञ्जीवी अधिकारी, हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीले पुरस्कार वितरण गरेका थिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजित उक्त प्रतियोगितामा १६ टीमले भाग लिएका थिए । नौ दिन चलेको उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो।

हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको समापनमा सदस्य बुद्धदेवी कुँवरले स्वागत र शंकरमणि त्रिपाठी ‘छन्दमणि’ ले कार्यक्रम सञ्चालन गरेका थिए ।

- अादर्श समाज सम्वाददाता