निर्वाचन केन्द्रित सुरक्षा गोष्ठी

चुनौती बीच सुरक्षा व्यवस्था : गृहमन्त्री

पोखरा, ६ वैशाख।उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने भन्दै निर्वाचनलाई केन्द्रित गरेर शान्तिसुरक्षाको सुदृढ र भरपर्दो व्यवस्था मिलाइएको बताएका छन् ।

पोखरामा बुधबार भएको पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधनपछि आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले निर्वाचनलाई मध्यनजर गरी सम्पूर्ण मतदाता, उम्मेदवार र निर्वाचनमा खटिने सबै कर्मचारीको सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको जानकारी दिए ।

निर्वाचन आयोग, सरकार निष्पक्ष, भयरहीत र स्वतन्त्र निर्वाचन गराउन कटिवद्ध रहेको बताउँदै निधिले निर्वाचनलाई सफल बनाउन सम्पूर्ण जनता, सञ्चारकर्मी, राजनीतिक दललगायतलाई आग्रह गरे । पहाड र तराईमा दुर्इखाले सुरक्षा चुनौती रहेको उल्लेख गर्दै गृहमन्त्री निधिले सुरक्षा चुनौती अनुसार नै आवश्यक सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिए ।

मधेसी मोर्चालाई वार्ता र संवाद गरी निर्वाचनमा सरिक गराउने प्रयास भैरहेको जानकारी दिँदै उनले चुनाव दुर्इ चरणमा गर्ने भन्नेमा निर्णय नभै सकेको स्पष्ट पारे । उनले उक्त मितिमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताए ।

उनले भने-’मधेसी मोर्चा पनि सहमति आए दुर्इ चरणमा पनि निर्वाचन गर्न सकिन्छ तर अहिले नै दुर्इ चरणमा गर्ने भन्नेबारे निर्णय भैसकेको छैन ।’

क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीले शान्तिसुरक्षामा कुनै सम्झौता नगरी निर्वाचनलाई निष्पक्ष, भयरहीत र स्वतन्त्र रुपमा सम्पन्न गराउन सबै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायले निर्वाचनलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले कुनै पनि अनिश्चय र द्धिविधामा नपरी आफ्नो योजनाअनुसार समन्वयात्मक ढंगबाट कार्य क्षेत्रमा लाग्न निर्देशन दिए ।

कार्यक्रममा क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले पश्चिमाञ्चलका १६ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै निर्वाचनमा कुनै पनि आपराधिक घटना हुन नदिने प्रतिवद्धता व्यक्त गरिन् ।

गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी, नेपाली सेनाका व्यवस्था तथा युद्ध कार्य महानिर्देशक उपरथी विनोद श्रेष्ठ, पश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी जगदीशचन्द्र पोखरेललगायत यस क्षेत्रका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाका प्रमुखहरुको उपस्थिति थियो ।

गोष्ठीमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले स्थानीय निर्वाचन केन्द्रित गरी तयार पारिएको सुरक्षा रणनीति र चुनौतीबारे व्रिफिङ गर्दै सुरक्षाका लागि जिल्ला तहमा स्रोतसाधन पर्याप्त नभएको, सवारीसाधन नभएको लगायत गुनासो गरेका थिए।

यसअघि पूर्वको विराटनगर, सुदूरपश्चिमको धनगढी र मध्यपश्चिमको सुर्खेतमा सुरक्षा गोष्ठी सम्पन्न भैसकेको छ ।

- अादर्श समाज सम्वाददाता