पोखराको परिचय पर्यटन 

पोखराका विभिन्न सामाजिक अभियान चल्यो भने धेरै सुनिने नाम हो-विश्वप्रकाश लामिछाने। योमात्रै होइन, राजनीतिकरुपमा पनि उत्तिकै सुनिन्छ उनको नाम। चाहे तालसँग होस्, चाहे उपत्यका नगर विकास समितिसँग। चक्रपथसँग पनि उनको नाम अगाडि आउँछ। पोखरासँग नजिक रहेर नगरको विकासमा उनको योगदान बिर्सिन सकिन्न।

लामिछानेको राजनीतिक जीवन विद्यार्थी राजनीतिबाट शुरु भएको हो। २०३७ सालदेखि उनी विद्यार्थी राजनीतिमा लागेर विभिन्न अभियानमा सहभागी भए । २०३८ सालमा अनेरास्ववियु जिल्ला सदस्य भए।  त्यसपछि अखिल नेपाल युवक संगठन जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्यसम्म बने। जनवादी युवा लिगका जिल्ला अध्यक्ष हुँदै केन्द्रिय महासचिव बने भने २०४० सालदेखि पार्टीका सदस्यता लिएर निरन्तररुपमा लागिरहेका छन्। तत्कालीन नेकपा चौथो महाधिवेशनपछि पार्टीफुटेर उनी नेकपा मसालमा लागे। त्यसपछि फुटेको मसालमा पनि उनी मोटो मसालमा आवद्ध भए। लामिछाने शुरुदेखि नै पार्टीको संस्थापनमा छन्। अहिले उनी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भएर काम गरिरहेका छन्। यसबाहेक सामाजिक संघ संस्थाहरुमा पनि उनको राम्रै उपस्थिति छ। पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष बनिसकेका लामिछाने विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र सल्लाहकार छन्। विजय ढकाल स्मृति प्रतिष्ठानका अध्यक्ष, कवि शिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष, प्रस्तावित पोखरा उपत्यका चक्रपथ निर्माणका संयोजक र फेवाताल उच्चस्तरीय आयोगका संयोजक बनेर काम गरिरहेका छन्।

– विश्वप्रकाश लामिछाने

अहिले गौरव लाग्छ, हामीले सरकार निर्माण गर्ने अवसर पाएका छौं। यो इतिहासमा कहिल्यै थिएन। हिजो स्थानीय निकायको चुनाव हुन्थ्यो। अधिकारसम्पन्न थिएन। पञ्चायतकालमा पनि पहुँचका भरमा मेयर नियुक्त हुने चलन थियो। २०४६ सालपछि जनता र जनप्रतिनिधिबीच तालमेल मिल्न सकेन। तर हिजो जति गरे त्यसलाई छोडेर अब कसरी जाने भन्नेतिर बढी सोच्नुपर्छ। पोखरा बिग्रिनुमा पञ्च र पूर्व मेयरको मात्रै हात छैन, हामी पनि कतै न कतै जोडिएका छौं। पोखराको भौतिक विकासको थालनी पञ्चायतकालमै भएको छ। तर उत्कृष्ट व्यवस्थापन चाहीँ हुन नसकेको हो। पृथ्वीनारायण क्याम्पस बगरमा राखेपछि इञ्जिनियरिङ क्याम्पस लामाचौरमा राखियो। वन क्याम्पस हरियोर्खर्कमा छ। पशु फाराम भेडीखर्कमा छ। अस्पताल रामघाटमा र कार्यालयहरु बैदाममा छ। केही थालनी भएकै हो। अझै परिमार्जित र परिस्कृत गरेर लैजानुपर्छ।

पोखरा सपार्ने भए दीर्घकालीन सोच बनाउनुपर्छ। यहाँको विकाससम्बन्धी मास्टर प्लान बनाइनुपर्छ। ल्याण्ड युज प्लान सबैभन्दा महत्वपूर्ण हुन्छ, पोखरालाई। यसअघि सामान्यरुपमा भए पनि प्लान त गरिएको थियो तर कार्यान्वयन हुन सकेन। हाम्रो प्लान उल्टो रुपमा चलिरहेको छ। अन्तर्राष्ट्रिय प्रक्रिया हेर्दा पहिले प्लान, पूर्वाधार, अनि आवास शुरु हुन्छ। तर हाम्रातिर खेतीयोग्य जमिनमा पहिले घर बनाउने, अनि बाटो लैजाने र बत्ती पानी बिजुली विस्तार हुन्छ। यो पोखराका लागि सबैभन्दा घातक हो।

पोखरालाई साँच्चै विकास गर्ने भने यहाँ रहेका प्राकृतिक सम्पदा संरक्षण गर्नुपर्छ। संसारका सुन्दर हिमालमध्ये हाम्रा हिमाल टप टेनमा पर्छन्। संसारका सुन्दर तालमध्ये हाम्रा तालहरु पर्छन्। अझै सुन्दर हिमालको छायाँ सुन्दर तालमा देखिने दृष्य संसारमै बिरलै पाइन्छ। तर अहिले यो मलिनो बन्दै गएको छ। त्यसैले यसको विकास पहिलो प्राथमिकता हो। खोला र तालका किनारमा पार्क बनाउन सके पनि आफै संरक्षण हुन सक्छ। नेपालको ताजमहलको रुपमा रहेको रत्न मन्दिर खुल्ला गरेर संरक्षण मात्रै गर्न सके विशेष पूर्वाधार निर्माण गर्नुपर्दैन। यस्तै विन्ध्यवासिनी, भद्रकालीजस्ता धार्मिक मन्दिरहरुको विकास हुनुपर्छ। एकदिन हाम्रा आँखाले देखेका टाकुराहरु पनि पर्यटकीय क्षेत्र बन्छन्। त्यसका लागि अहिलेदेखि नै थालनी गर्नुपर्छ। अर्मला, काहुँ, सराङकोट, पुम्दी, भुम्दी, निर्मलपोखरी, कृष्तीका थुम्काहरुको विकास हुनुपर्छ। त्यहाँ स्टार होटलहरु बनाउन सकिन्छ। लेकसाइडमात्रै अब पर्यटकीय क्षेत्र बन्दैनन्। उनीहरुले पनि बुझ्नुपर्छ कि ग्रामीण हरियालीका कारण लेकसाइडको अस्थित्व रहेको हो। अर्को कुरा हाम्रो धर्म संस्कृति निकै पुरानो छ। पोखरालाई हिन्दू र बौद्ध धर्मको ट्रान्जिट प्वाइन्टका रुपमा विकास गर्न सक्छौं।

पहिलो आधार भनेको उज्यालो सिटीका रुपमा पोखरालाई विकास गर्न सकिन्छ। सेती, मादी, मोदी, विजयपुर खोला, मर्दी, इदीलगायत खोलानालामा जलविद्युत् उत्पादन गर्न सकिन्छ। अर्को आधार भनेको कृषि हो। यहाँका प्रत्येक घरमा कृषि उद्योग बनाउन सकिन्छ। यसले उत्पादन हुन्छ, रोजगारी विकास हुन्छ अनि महानगर समृद्ध बन्छ। त्यसैले प्राविधिक हिसावको कृषि प्रणाली सुरु हुनुपर्छ। हाम्रो महानगर शीतलहर हुनेदेखि हिउँपर्ने ठाउँसम्म फैलिएको छ। त्यसैले हिमाल, पहाड, तराई र मधेसजस्ता क्षेत्रमा उत्पादन हुने कृषि उत्पादन हाम्रो महानगरमा सम्भव छ।

बैदामको बारी, आर्बाको घारी र माझठानाको टारी निकै सुन्दर थियो। मैले भनेका सबै ठाउँमा अहिले बस्ती भरिसकेका छन्। अहिले केही बिग्रिएको छ। घना बस्ती बनाएर कमजोरी गरेका छौं। फेवाताल बनेको जलाधार क्षेत्रका कारण हो। तर जलाधार क्षेत्रको विकासका लागि केही गर्न सकेनौं। जलाधारको भूक्षयले फेवाताल पुरियो। हिजो बैदामको बारी जोगाइदिएको भए र पुम्दी, निर्मलपोखरीतिर बस्ती बसाइदिएको भए फेवातालको हालत यस्तो हुने थिएन। पोखरामात्रै होइन, कास्की नै पर्यटनजस्तो लाग्छ मलाई। यहाँका हरेक ढुंगाहरु पर्यटकका लागि आर्श्चर्य हुन्। त्यस्तो कुनै चिज हामीसँग छैन जुन चिज काम नलागोस्। तर हामीले कामको चिज बनाउन सकेनौं। अहिले राज्य पुनर्संरचनाले जिल्लामा पाँचवटा तह कायम गरेको छ। पोखरा लेखनाथ महानगरपालिका देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण महानगरपालिका हो। यसले सीमानामा रहेका गाउँपालिकाहरुसँग भगिनी सम्बन्ध विकास गर्नुपर्छ। ग्रामीण क्षेत्रका बासिन्दाले अहिलेसम्म त्याग मात्रै गरेका छन्। हामीलाई चाहिने पानी माछापुच्छ्रे गाउँपालिकाबाट ल्याउनुपर्छ, खाद्यान्न आयात गर्न सक्छौं। रुपाबाट वन पैदावार ल्याउन सक्छौं। मादीबाट हाइड्रोपावर आयात गर्न सकिन्छ। अन्नपूर्णबाट पनि जडिबुटी ल्याउन सक्छौं। तर उनीहरुलाई केही दिनुपर्छ। सबै गाउँपालिकामा पर्यटक पठाइदिनुपर्छ।  निःशुल्क लिने प्रवृत्ति त्याग्नुपर्छ। सबै गाउँपालिकामा स्याटलाइट सिटी विकास गर्न सकिन्छ। धेरै तरिकाबाट उनीहरुलाई सम्बोधन गर्न सक्छौं।

तर त्यसका लागि भिजन भएका मेयर चाहिन्छ। सर्वगुण सम्पन्न कोही छैन। पार्टीत चुनावभन्दा साझा उम्मेदवार उठाएर फेयर चुनाव गराउनुपर्छ। अनि सम्भव छ हाम्रो समृद्धि। चुनाव अब शान्तपूर्ण हिसाबको हुनुपर्छ। जुन सोचाइले स्थानीय चुनाव भए, अब थियो भनेर त्यसलाई दोहोर्‍याउनु हुन्न। कतै पनि बल प्रयोग नगरौं।

मतदातालाई जागीर र आर्थिक प्रलोभनमा पारेर भोट आकषिर्त गर्ने चलन थियो, यो पनि अब दोहोरिनु हुन्न। पहिले हरेक ठाउँमा राजनीति लाग्यो। अब भने राजनीतिक रुपमा जोडिए पनि योग्यताको आधारमा स्वच्छ मतदान प्रक्रियाले उम्मेदवार छनोट गर्नुपर्छ।

योग्य मान्छेलाई जिताउनुपर्छ, चाहे जुनसुकै पार्टीको होस्। जसले जिते पनि हामीले जितेको भन्ने धारणा विकास हुनुपर्छ। पैसा र बलमा यति लडेर ल्याएको अधिकार खेर जाने वातावरण नबनोस्। लोकतन्त्रले सबैलाई उम्मेद्वार बन्ने छुट दिएको छ तर जनताले सही मान्छे छनोट गर्नुपर्छ। पोखराको आवश्यकताअनुसारको कानुन हामीले बनाउन पाउँछौं। विराटनगरले उद्योग जोड्न सक्छ, भैरहवाले अर्को हिसाबले कानुन बनाउँछ। तर हामीले हाम्रा आवश्यकता जोडेर कानुन बनाउनुपर्छ।

हाम्रो कानुनमा पोखरा र समग्र कास्कीलाई नै पर्यटनको परिचयले जोड्न सके हामी समृद्धितर्फ उन्मुख भएका ठहरिने छौं। त्यसका लागि आवश्यक जनशक्ति हामीभित्रै छन्। मात्र खाँचो छ, परिचालनको। त्यो असम्भव छैन। तर हाम्रो सोचमा र सिद्धान्तमा फरक पर्ने कुरा भयो। त्यसैले भनेको, अब पार्टीतभन्दा पोखराको सिद्धान्तमा खेल्न सिकौं। साझा उम्मेद्वार बन्ने प्रयास गरे सबैले सघाउने छन्। र, म पनि सघाउनेछु।

- प्रकाश ढकाल