निर्वाचन केन्द्रित हुने पाँच दलको निर्णय

काठमाडौं, ६ वैशाख। प्रमुख पाँच राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताएका छन्।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरुको बैठकले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको हो।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको आहृवानमा बसेको बैठकले निर्धारित मितिमै एकतावद्ध भएर स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो।

बैठकले स्थानीय तहको निर्वाचन पूर्व नै मधेसी मोर्चालाई पनि सहमतिमा ल्याउन वार्ता र संवादको प्रक्रिया जारी राख्ने निर्णय गरेको छ।

बैठकमा स्थानीय तहको निर्वाचन, मधेसी मोर्चाले उठाएका माग र संविधान संशोधनका विषयमा छलफल भएको थियो।

बैठकले बैशाख ३१ को निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न र मधेसी मोर्चालाई पनि निर्वाचनमा ल्याउन संविधान संशोधन प्रस्ताव अघि बढाउने र निर्वाचनका लागि थप अनुकूल वातावरण बनाउने निर्णय गरेको छ।

बैशाख ३१ मै चुनाव गर्ने सहमति भए पनि मधेसी मोर्चा चुनावमा आए दुर्इ चरणमा गर्ने कि एकै चरणमा भन्नेमा भने पाँच दलबीच फरक मत देखिएको छ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सुरक्षा तयारी र सहमति नभई चुनावमा जाँदाका सम्भावित चुनौती जानकारी गराएका थिए।

प्रधानमन्त्री दाहालले निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै चुनाव कुनै हालतमा नसर्ने बताए। चुनाव एकै चरणमा गर्ने वा दुर्इ चरणमा भन्नेबारे छलफल गर्न प्रधानमन्त्रीले काँग्रेस, एमाले, माओवादी, राप्रपा र विजयकुमार गच्छदारको लोकतान्त्रिक फोरमका नेताहरुलाई बोलाएका थिए।

बैठकमा एमाले र लोकतान्त्रिक फोरमले दुर्इ चरणमा चुनाव भए मोर्चा आउने ग्यारेन्टी छ – भन्ने जिज्ञासा प्रधानमन्त्रीसँग राखेका थिए। तर, छलफल भए पनि यसबारे निष्कर्ष भने निस्कन सकेन।

बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह, एमालेका कार्यबाहक अध्यक्ष वामदेव गौतम, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेता सुभाष नेम्वाङ, अर्थमन्त्री कृष्णबहादुर महरा, माओवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, नेता वषामान पुन ‘अनन्त’, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, आपूर्र्तिमन्त्री दीपक बोहरालगायत शीर्षनेता उपस्थित रहेका थिए।

- अादर्श समाज सम्वाददाता