मतदान स्थल र मतदान केन्द्र निर्धारण

काठमाडौं, ६ वैशाख। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ वटै जिल्लामा रहने मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको छ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रको संख्या निर्धारण गरेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार मतदान स्थलको संख्या १० हजार छ सय ४० र मतदान केन्द्र १८ हजार पाँच सय ७२ निर्धारण गरिएको छ।

जसअनुसार काठमाडौमा सबैभन्दा बढी छ सय ८६ मतदान केन्द्र रहेका छन् भने सबैभन्दा कम मनाङमा २८ मतदान केन्द्र कायम गरिएको छ। आयोगको यो निर्णयबाट स्थानीय तहको निर्वाचनमा सहभागी हुने एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताले कुन मतदानस्थल र मतदान केन्द्रमा गएर मतदान गर्ने भन्ने टुंगो लागेको छ ।

दुर्इ लाख २४ हजार आठ सय ११ मतदाता रहेकोमा कास्कीमा एक सय ५० मतदान स्थल तय भएकोमा दुर्इ सय ८८ मतदान केन्द्र रहने छन् । यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्।

निर्वाचन आयोगमा बुधबार निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षणमा निर्वाचनमा खटिने सहभागीलाई उनले यस्तो निर्देशन दिएका हुन्।

प्रमुख निर्वाचन आयुक्त डा यादवले पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्ने अठोट गर्नुपर्ने बताए।

निर्वाचनको वातावरण अनुकूल बन्दै गएको र कहीँ कतै समस्या देखियो भने आयोगको तत्कालै उपस्थिति जनाएर समाधान गरिने बताए। संविधान कार्यान्वयन र लोकतन्त्रको स्थायित्वको सर्न्दर्भमा आधारशीलाको रुपमा रहेको वैशाख ३१ मा हुने सात सय ४४ स्थानीय तहको निर्वाचन नयाँ खाले जिम्मेवारी भएकाले त्यो गर्नु भनेको राष्ट्रको लागि ठूलो योगदान भएको प्रमुख निर्वाच आयुक्त यादवले बताए ।

- अादर्श समाज सम्वाददाता