मधेसीको अधिकार सुनिश्चित हुन्छ : थापा

चितवन, ६ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसी जनताको अधिकार सुनिश्चित गर्न सरकार तयार रहेको बताएका छन्।

राप्रपा चितवनले बुधबार भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थापाले अधिकारका लागि सरकार र दलहरु तयार रहेको तर प्राप्तिको बाटो मात्रै फरक भएको बताए। उनले वार्ता र सहमतिको आधारमा निकास खोज्न सकिने बताए। त्यसका लागि निर्वाचन बहिस्कार गर्न मधेसी मोर्चालाई आवश्यक नरहेको उनको भनाइ थियो।

मधेसी मोर्चाले गरेको स्थानीय तहको निर्वाचन बहिस्कारको निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्दै थापाले सिंहदरबारको अधिकार स्थानीय तहमा पुर्‍याउने यस महान अभियानमा सहभागिता जनाउनका लागि मोर्चालाई आग्रहसमेत गरे।

निर्वाचनमा सबै दलको सुनिश्चितताका लागि मोर्चालाई निर्वाचनमा ल्याउनका लागि सरकारले हरसम्भव प्रयत्न गरिरहेको थापाको भनाइ थियो।

सरकारले मोर्चालाई निर्वाचनमा सहभागि गराउनकै लागि संविधान संशोधनको विधयक संसदमा दर्ता गरेको पनि थापाले बताए।

सरकार र कुनै पनि राजनैतिक दल अहिले मधेस, पहाड, हिमालमा बस्ने जनता र आदिवासी, जनजातिको हक अधिकार एवं पहिचानलाई विलय गराउने पक्षमा नरहेको थापाको भनाइ थियो। आउँदो स्थानीय तहको निर्वाचन तोकिएको समयमै हुने भन्दै उनले निर्वाचनमा अत्यधिक संख्यामा सहभागी भई महाउत्सवको रुपमा यसलाई परिणत गर्न आग्रह गरे।

मुलुकमा २० वर्ष पछि निर्वाचन हुन लागेको भन्दै अध्यक्ष थापाले काँग्रेस, एमाले, माओवादी र राप्रपा भएर होइन स्वभिमानी राष्ट्रभक्त नेपाली भएर मतदान गर्न आग्रह गरे।

१० वर्षको हिंसात्मक जनयुद्धले १७ हजार बढीको ज्यान गएको, अरबौं रुपँैया नष्ट भएको भन्दै उनले त्यसपछि शान्ति र सम्वृद्धिको नाममा १० वर्षसम्म अस्थिरता, अराजकतामा जनता रुमल्लिनुपरेको बताए।

परिवर्तनलाई संस्थागत गर्ने नाममा जुनबाटो अवलम्बन गरियो त्यो गलत रहेको बताउँदै उनले दलका नेताको आत्मसमर्पणवादी र लम्पसारवादी चिन्तनले विदेशी चलखेल बढेको आरोप लगाए। कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणाले मधेशवादी दलहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारसँग माग गरे।  मधेसी दलहरुले स्थानीय तहको निर्वाचनमा सहभागिता नजानाउने निर्णयले नेपालको एक तिहाई भागलाई छाडेर निर्वाचन गर्न सम्भव नरहेको उनको भनाइ थियो।

उनले संविधान संशोधनमा लचिलो भएर मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनु आजको आवश्यकता रहेको बताए।

नेता राणाले ठूला राजनीतिक दलहरुले १० औं वर्ष देशलाई दिशा दिन नसकेको आरोप लगाउदै काँग्रेस र कम्युनिष्टले देशले खोजेको विकास दिन नसकेको उल्लेख गरे।

जनताले इमान्दार शासन खोजेको समयमा अहिलेका ठूला दलहरुले जनतालाई झुक्काउने काम गरेको उनको आरोप थियो।

९४ प्रतिशत हिन्दू धर्म मान्ने मुलुकमा अपरझट धर्म निरपेक्षता घोषणा गरिनुले समेत देशलाई असहज वातावरणमा धकेलेको राणाको भनाइ थियो। कार्यक्रममा राप्रपाका उपाध्यक्ष एवं भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले अहिले जनताले विकास चाहेकाले राप्रपाले जनताको चाहना पूरा गर्ने दाबी गरे। उक्त अवसरमा राप्रपाका महामन्त्री ध्रुवबहादुर प्रधानले आफू प्रहरी प्रमुख हुँदा स्थानीय निकायको निर्वाचन गराएको भन्दै जनताको अधिकार जनतालाई दिन निर्वाचन आवश्यक रहेको बताए। राप्रपाका केन्द्रीय सदस्य कोमल ओली र रेखा थापाले धर्म बचाउन गाईलाई मतदान गर्न आह्वान गरेका थिए।

- अादर्श समाज सम्वाददाता