शुभकामना कप फुटबल सेमीफाइनल समीकरण पूरा

पोखरा, ६ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा संगम एफसी र सत्य युवा क्लब बाँझापाटन सेमिफाइनलमा प्रवेश गरेका छन्। योसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ। गौरीशंकर खेल मैदान (गैरी) मा बुधबार भएको पहिलो खेलमा संगम एफसीले भदौरे युवा क्लबलाई १२-० को फराकिलो गोलअन्तरले पराजित गर्‍यो।

उक्त खेलमा म्यान अफ दी म्याच बिमल रानाले एक्लै पाँचको योगदान दिँदा बेलप्रसाद गुरुङ र मनिष तामाङले जनही दुर्इ तथा विश्व अधिकारी, गणेश थापा र अञ्जन देवकोटाले जनही एक गोल गरेका थिए। बुधबारको अन्तिम क्वाटरफाइनलमा सत्य युवा क्लबले हाम्रो हिमशिखर क्लब फेदिखोला, स्याङ्जालाई ३-२ ले पराजित गरी अन्तिम चारमा पुग्न सफल भएको हो। खेलमा सत्य युवाको जीतका लागि रिजन सुब्बा, समार्सुग र म्यान अफ दी म्याच जीवन गुरुङले एक/एक गोलको योगदान दिए। हाम्रो शिमशिखरको लागि आविश गुरुङ र गोविन केसीले गोल गरेका थिए। फाइनल प्रवेशका लागि बिहीबार पहिलो सेमीफाइनल बिहान ११ बजे संगम एफ सी र लेकसाइड एफसीबीच हुनेछ भने दोस्रो सेमीफाइनलमा दिउँसो १ बजे विष्णुपादुका युवा क्लब र सत्य युवा क्लब, बाझाँपाटनबीच प्रतिष्पर्धा हुने आयोजक हेमजा युनाइटेडका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए। यसअघि लेकसाइड एफसीले आयोजकलाई र विष्णुपादुकाले सहारा क्लब पोखराको चुनौती पन्छाउँदै सेमीफाइनल पुगेका हुन्।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ आयोजित प्रतियोगिताको फाइनल शनिबार हुनेछ।

- अादर्श समाज सम्वाददाता