नेवि संघले ४८ औं स्थापना दिवस मनायो

पोखरा, ६ वैशाख। नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले आफ्नो ४८ औँ स्थापना दिवस अवसरमा विद्यार्थी भेटघाट कार्यक्रम गरेको छ।

पृथ्वीनारायण क्याम्पसमा बुधबार आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेवि संघका केन्द्रीय सदस्य भानु ढकालले आसन्न निर्वाचनमा सबै क्षेत्रमा काँग्रेसलाई जिताउन विद्यार्थीहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले काँग्रेसबिना मुलुकको सम्वृद्धि हुन नसक्ने भएकाले पनि अबको निर्वाचनमा काँग्रेसलाई शक्तिशाली पार्टीबनाउन आवश्यक रहेको बताए।

नेता ढकालले आसन्न निर्वाचन, संविधान कार्यान्वयन, परिवर्तित संरचना, स्थानीय तहको अधिकार, समसामयिक शैक्षिक मुद्दा, राष्ट्रिय एवं विकास र समृद्धि काँग्रेसबाट मात्रै सम्भव रहेको स्पष्ट पारे।

उनले निरंकुश पञ्चायती सत्ताविरुद्ध प्रजातन्त्र पुनःस्थापनाका लागि नेवि संघले नेतृत्वदायी भूमिका खेलेको भन्दै भने-’लामो समयपछि मुलुकले संविधान पाएको छ यसलाई कार्यान्वयन गर्नका लागि नेवि संघले महत्वपूर्ण भूमिका खेल्नेछ।’

संघका केन्द्रीय सदस्यद्वय गोपाल गुरुङ र देवकृष्ण पराजुली तथा पूर्व केन्द्रीय सदस्य गोविन्द लामिछानेले वैशाख ३१ गते हुने स्थानीय चुनावमा सबै ध्यान केन्द्रित गर्न निर्देशन दिए। कार्यक्रममा नेवि संघ कास्कीका नेताहरु समित केसी र विकास थापा, तरुण नेता जितेन्द्र कायस्थलगायतले अबको चुनावमा काँग्रेसलाई जिताउन नेवि संघको भूमिका महत्वपूर्ण हुने बताएका थिए। संघका इकाइ अध्यक्ष दीपक शर्मा वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत स्ववियु चुनावका उम्मेद्वार राजेश हमालले र सञ्चालन नेवि संघ नेता कपिल भट्टले गरेका थिए।

यसैगरी, नेवि संघ विन्दवासिनी संस्कृत विद्यापीठमा पनि संघको वाषिर्कोत्सव मनाइएको छ । कार्यक्रममा सामूहिक स्वस्ती वाचन र केक काटेर वाषिर्कोत्सव मनाइएको इकाइ अध्यक्ष गिरीराज शर्माले जानकारी दिए।

प्रमुख अतिथि क्याम्पसका प्रचार्य अम्विकाप्रसाद भट्टराईले विद्यार्थीहरु राज्यको भावी कर्णयार भएकाले मुलुकको प्रत्येक गतिविधिमा विद्यार्थीको सहयोग र भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा नेवि संघका केन्द्रीय सदस्य भानु ढकाल, विद्यार्थी नेताहरु विकास थापा र समित केसी सहभागी थिए।

- अादर्श समाज सम्वाददाता