पोखरा जेसिजको ‘वीकइण्ड’ तयारी

पोखरा, ६ वैशाख। पोखरा जेसिजले हरेक वर्ष आयोजना गर्दै आएको जेसिज वीकइण्ड वैशाख ८ देखि १० गतेसम्म हुने भएको छ।

पोखरा जेसीजले बुधबार पत्रकार सम्मेलन गरी तीन दिनसम्म विविध कार्यक्रमका साथ सप्ताहन्त मनाउने जानकारी गराएको हो।

जेसीज वीकइण्डअन्तगत पहिलो दिन ट्राफिक सचेतना र्‍यालीका साथमा उद्घाटन सत्र र सोही दिन सचेतना कार्यक्रम गरिनेछ।

सृजनाचोकदेखि शुरु हुने र्‍याली पृथ्वीचोकस्थित जिल्ला ट्राफिक कार्यालय कास्कीको परिसरमा पुगी कार्यक्रम शुभारम्भ हुने र ट्राफिक कार्यालयको सहयोगमा पोखराका विभिन्न चोकमा सचेतना कार्यक्रम गरिने छ। कार्यक्रम संयोजन सुवास सुवेदी र सन्देश पराजुलीले गर्नेछन्।

दोस्रो दिन मादी गाउँपालिका वडा नं. ४ सिमलचौर तारकाङमा हुने स्वास्थ्य परीक्षण कार्यक्रम हुनेछ। कार्यक्रममा कास्की सेवा हस्पिटल र मादीगंगा महिला विकास सहकारीको सहकार्य रहने संयोजक अञ्जनदेव ढकालले बताए।

अन्तिम दिन निःशुल्क स्वास्थ्य शिविर, स्टेशनरी, खेलकुद सामग्री तथा पोशाक वितरण कार्यक्रम तय भएको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ सराङकोटस्थित मणिज्योति आधारभूत विद्यालयमा शिविर र सहयोग हस्तान्तरण गरिने संयोजक जमुना शर्माले जानकारी दिइन्। सोहि दिन हुने समापन कार्यक्रमको संयोजन अनन्त प्रधानाङ्गले गरेका छन्।

जेसीज वीकइण्डका मूल संयोजक शिवप्रसाद सापकोटाले सामाजिक क्रियाकलापमा युवाको संलग्नता बढाउँदै सामाजिक संस्थाको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने हेतुले वाषिर्करुपमा समाजलक्षित कार्यक्रम गरिएको बताए।

उनले ट्राफिक र स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन यस्ता खालका कार्यक्रम राखिएको जनाए।

कार्यक्रम सञ्चालनका लागि तीन लाख ५० हजार खर्च लाग्ने र सो रकम विभिन्न संघसंस्था तथा जेसीज सदस्यबाट संकलन गरिएको उनले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता