प्रधानमन्त्रीको चुनावी सुरक्षा चासो

सुरक्षा प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, ५ वैशाख। गृहमन्त्रीले स्थानीय चुनावबारे आशंकायुक्त धारणा सार्वजनिक गरेको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सुरक्षा निकायका प्रमुखलाई निर्वाचन सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले मंगलबार नेपाली सेनाका प्रमुख रवीन्द्र क्षेत्रीसहित चारवटै निकायको प्रमुखहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले चुनावी सुरक्षाको विषयमा आंशका देखाएपछि प्रधानमन्त्री दाहालले यस्तो चासो देखाएका हुन्।

प्रधानमन्त्रीले प्रधानसेनापति रवीन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन्।

भेटमा प्रधानमन्त्रीले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अंगका प्रमुखहरुसँग जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिए।

भेटमा सुरक्षा अंगका प्रमुखहरुले देशमा शान्तिसुरक्षाको अवस्था सामान्य रहेको बताएका थिए।

उनीहरुले निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षा तयारी गरिरहेको जानकारी गराएको पनि प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

राजनीतिक दलका नेता र सरकारका जिम्मेवार मन्त्रीकै अभिव्यक्तिले गर्दा सर्वसाधारणले चुनावबारे प्रश्न गरिरहेका बेला उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले आइतबार मध्यरातमा ट्वीट गर्दै आन्दोलनरत दलहरुसँग वार्ता नगरे निर्वाचन गर्न नसकिने बताएका थिए।

निधीको विवादास्पद ट्वीटपछि मुलुकको पछिल्लो सुरक्षा अवस्था र अपनाउन सकिने उपायबारे प्रधानमन्त्रीले जानकारी लिएका हुन्।

सुरक्षा प्रमुखहरुले मधेसमा मधेसी मोर्चाका कारण चुनाव गर्न चुनौती र पहाडी जिल्लामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको खतरा रहेको बताएका थिए।

प्रहरीका नवनियुक्त प्रहरी प्रमुख प्रकाश अर्यालले सुरक्षास्थितिबारे आफ्नो धारणासहितको योजना सुनाएका थिए। उनले पहाडी जिल्लामा भन्दा बढी खतरा मधेसमा रहेकाले त्यसैअनुसार सुरक्षा व्यवस्था मिलाइने जानकारीसमेत गराएका थिए।

सशस्त्र प्रहरीका प्रमुख सिंहबहादुर श्रेष्ठले पनि पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी चुनौती रहेको धारणा राखेका थिए।

त्यस्तै, राष्ट्रिय अनुसन्धानका दिलीप रेग्मीले चुनावमा पहाडी जिल्लामा हुने चुनावमा नेत्रविक्रम चन्द विप्लव कार्यकर्ताले अवरोध गर्न सक्ने तथा विप्लवका कार्यकर्तासँग हतियारसमेत भएकाले त्यसैअनुसार अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

प्रधानमन्त्रीसँगको भेटमा प्रधानसेनापति रवीन्द्र क्षेत्रीले नेपाली सेना सरकारको निर्देशन पालना गर्न तयार रहेको भन्दै निर्देशन आए सुरक्षा तैनाथीका लागि कुनै कसर बाँकी नराख्ने धारणा राखेका थिए। चारवटै सुरक्षा प्रमुखको कुरा सुनेपछि प्रधानमन्त्रीले कुनै हालतमा बैशाख ३१ को स्थानीय चुनाव नरोकिने भन्दै त्यसैअनुसार अघि बढ्न निर्देशन दिएका थिए।

- अादर्श समाज सम्वाददाता