राष्ट्रपतिलाई मुखर्जी र मोदीको स्वागत

काठमाडौं ५ वैशाख। भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई समकक्षी प्रणव मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा मंगलबार स्वागत गरेका छन्।

राष्ट्रपति भण्डारीको स्वागतका लागि राखिएको ‘गार्ड अफ अनर’ कार्यक्रममा भारतीय समकक्षी मुखर्जी र प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन्।

भारतको राष्ट्रपति भवन फोरकोर्टमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीलाई शुरुमा मुखर्जी र त्यसपछि मोदीले स्वागत गरेका थिए।

त्यहाँ स्वागत ग्रहण गरेपछि राष्ट्रपति भण्डारी बिहान साढे ९ बजे राजघाटस्थित माहात्मा गान्धीको समाधिस्थलमा पुगेर सम्मान प्रकट गरेकी छन्।

यसैबीच, राष्ट्रपति भण्डारीसँग मंगलबार नै भारतीय विदशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, वित्तमन्त्री अरुण जेट्लीलगायतले भेटवार्ता गरेका छन्।

यस्तै, मंगलबार बेलुका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भण्डारीबीच दुर्इपक्षीय हितबारे भेटवार्ता भएको छ। उपराष्ट्रपति हमिद अन्सारीले पनि मंगलबार नै शिष्टाचार भेट गरेका छन्।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले मंगलबार साँझ भेटवार्ता गरेपछि भण्डारीको सम्मानमा मुखर्जीले रात्रिभोजको आयोजना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार दिल्लीको औपचारिक कार्यक्रम सकिएपछि राष्ट्रपति भण्डारी बुधबार उडिसामा र बिहीबार गुजरात जानेछिन्। राष्ट्रपति भण्डारीको टोली शुक्रबार उडिसाबाट दिल्ली हुँदै स्वदेश र्फकने कार्यक्रम छ।

- अादर्श समाज सम्वाददाता