शुभकामना कपमा लेकसाइड र विष्णुपादुका सेमीफाइनलमा

पोखरा, ५ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा लेकसाइड एफसी र विष्णुपादुका क्लब हेमजा सेमिफाइनलमा प्रवेश गरेका छन्।

गौरी शंकर खेल मैदान (गैरी) मा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा लेकसाइड एफसीले आयोजक हेमजा युनाइटेडलाई ५-० गोलअन्तरले पराजित गरी अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलमा लेकसाइड एफसीको तर्फबाट सञ्जय बुढाथोकीले हृयाटि्रक गर्दा अनिल गुरुङ र सुभाष गुरुङले एक/एक गोलको योगदान दिए। लेकसाइड एफसीका सञ्जय बुढाथोकी म्यान अफ दि म्याच घोषित भए।

दोस्रो खेलमा विष्णुपादुका क्लब हेमजाले सहारा क्लब पोखरालाई टाइब्रेकरमा ५-३ ले पराजित गर्‍यो। निर्धारित समयमा दुवै टिमबाट तीन/तीन गोल भएपछि खेल निर्णार्थ टाइब्रेकरमा पुगेको थियो। निर्धारित समयमा विष्णुपादुकातर्फबाट अशोक नेपाली, सञ्जोग केसी र अजय श्रेष्ठले गोल गरेका थिए भने सहाराबाट मानबहादुर तामाङ, किरण रानाभाट र एलेक्सले गोल गरेका थिए । उक्त खेलमा विष्णुपादुकाका अशोक नेपाली म्यान अफ दि म्याच घोषित भए।

बुधबार तेस्रो क्वाटरफाइनल भदौरे युवा क्लब र संगम एफसी तथा चौथो क्वाटरफाइनल हाम्रो हिमशिखर क्लब फेदिखोला स्याङ्जा र सत्य युवा क्लब बाँझापाटनबीच हुने क्लबका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्।

विजेताले एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ।

- अादर्श समाज सम्वाददाता