सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण

हेमजा, ५ वैशाख। क्षेत्रीय निर्वाचन कार्यालय पोखराको आयोजना एवं नेपाल पत्रकार महासंघ कास्की शाखाको व्यवस्थापनमा मंगलवार सञ्चारकर्मीका लागि निर्वाचनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ।

कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले कास्कीका सबै इकाइमा एकैखाले मतपत्र प्रयोग गर्न लागेको जानकारी दिए।

सुवेदीले कास्कीका पाँच इकाइमा रहेका ७२ वडामा कुल तीन सय ८१ जना जनप्रतिनिधिको निर्वाचन हुन लागेको जानकारी दिँदै निर्वाचनमा सहयोग पुर्‍याउने खालका समाचार संम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे। उनले स्थानीय तह निर्वाचनमा प्रत्यक्ष विधिमात्र अवलम्बन गरिने बताए।

क्षेत्रीय निर्वाचन कार्यालयका अधिकृत महेन्द्र सुवेदीले क्षेत्रीय निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको काम कर्तव्य र अधिकारबारे प्रकाश पारेका थिए।

उनले निर्वाचन प्रत्रियाबारे जानकारी दिँदै बैशाख १६ गते मनोनयन दर्ता तथा १९ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको बताए।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम निर्वाचन सहायता परियोजनाका क्षेत्रीय प्रमुख इञ्जिनियर सुदीप अर्यालले निर्वाचनमा मिडियाको भूमिका महत्वपूर्ण रहने बताउँदै निर्वाचनमा सघाउन तथा निर्वाचनको वातावरण बनाउन सक्ने क्रियाकलापमा विशेष ध्यान दिन आग्रह गरे।

उनले निर्वाचन र पत्रकारिताको आचारसंहितामा रहेर काम गर्न पत्रकारलाई सुझाव दिँदै कास्कीको हकमा सबै सञ्चार संस्थालाई मध्यजनर गरी अधिकतम प्रेसपासको व्यवस्था मिलाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्घतासमेत जनाए।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले महासंघसँग मिलेर क्षेत्रीय निर्वाचन कार्यालयले कार्यक्रम सञ्चालन गरेको भन्दै खुसी ब्यक्त गरे।

अध्यक्ष श्रेष्ठले कास्कीका मिडियाकर्मीले चुनाव चाहेको दाबी गर्दै चुनावमा पत्रकारले सही र वस्तुनिष्ठ रिपोर्र्टिङ गर्न सक्नुपर्नेमा जोड दिए। कार्यक्रममा कास्कीका क्रियाशील पत्रकारको सहभागिता थियो।

क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघका जिल्ला सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए।

- अादर्श समाज सम्वाददाता