हरेक वर्ष भर्ना खारेज गर : नागरिक समाज

पोखरा, ५ वैशाख। शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थी र अभिभावकका समस्यालाई दृष्टिगत गर्दै नागरिक समाज पोखराको प्रतिनिधिमण्डलले जिल्ला शिक्षा कार्यालयमा पाँचबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल नेतृत्वको प्रतिनिधिमण्डलले कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलसमक्ष मंगलबार दिउँसो ध्यानाकर्षण पत्र बुझाएको हो।

ध्यानाकर्षण पत्रमा एउटै विद्यालयमा निरन्तर पठनपाठन गर्दैआएका विद्यार्थीलाई हरेक वर्ष लिइँदैआएको भर्ना शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी-अभिभावकलाई पायक पर्ने किताब पसलबाट शैक्षिक सामग्री खरिद गरी स्वतन्त्रता दिइनुपर्ने, कापी-किताब र पोशाकका लागि खरिद चिट दिएर पसल तोक्ने कार्य बन्द गर्नुपर्ने, हरेक विद्यालयमा छात्रछात्राका लागि छुट्टाछुट्टै साबुनपानीसहित सफा शौचालयको व्यवस्था गरिनुपर्ने, महिनाबारी हुने किशोरीलाई विद्यालयमा सेनिटरी प्याडको अनिवार्य व्यवस्था गर्नुपर्ने र विद्यालय हातादेखि एक सय मिटरसम्म मदिरा र सूर्तिजन्य पदार्थ बिक्री वितरणमा कर्डाई गरिनुपर्ने उल्लेख छ।पत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी पौडेलले माग सुनुवाई सम्बन्धमा आफूले विशेष ध्यान दिने बताए।

नागरिक समाज संयोजक पौडेलले नेपालको संविधान २०७२ ले शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकका रुपमा अंगीकार गरिसकेको सर्न्दर्भमा कास्कीका विभिन्न विद्यालयबाट अभिभावकलाई विभिन्न बहानामा आर्थिक भार पर्ने काम भइरहेकोले संविधानले प्रत्याभूत गरेका अधिकार लागू गर्न ध्यानाकर्षण गराइएको बताए।

- अादर्श समाज सम्वाददाता