मतदाता शिक्षा अभियान शुरु

पोखरा, ५ वैशाख। मतदाता स्वयंसेविका र मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको सन्देश लिएर कार्यक्षेत्रमा खटिने क्रम शुरु भएको छ। निर्वाचन आयोगका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीका अनुसार उनीहरुले निर्वाचनको मौन अवधि शुरु हुनुअघि एक महिनासम्म मतदातालाई मतदान गर्ने, उम्मेद्वार बन्ने लगायत मतदाता शिक्षा प्रदान गर्नेछन्।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि सामाजिक परिचालक, मातृशिशु स्याहार कार्यकर्ता र शिक्षक एवम् शिक्षिका गरी मुलुकभर २१ हजार स्वयंसेवक खटाएको छ।

कास्कीमा तीन सय जना खटिएको सुवेदीले जनाए। टोलसम्म पुगेर मतदाता शिक्षाका लागि आयोगले तयार गरेको पाँच प्रकारका पोस्टर, नेपालको संविधानमा निर्वाचन र यससँग सम्बन्धित केही जानकारी भएको हातेपुस्तिका, क्यालेन्डर, नमुना मतपत्रबारे शिक्षा प्रदान गर्नेछन्। लामो समयपछि स्थानीय तहको निर्वाचन नयाँ संरचनामा हुन लागेको, मतपत्र ठूलो हुने, समावेशी सिद्धान्त पालना गर्नुपर्ने लगायतका विषयमा मतदाता शिक्षा दिनेछन्।

मतदान गर्ने समयभित्रै मतदान केन्द्रमा पुगिसक्ने, मतदाता परिचयपत्र साथमा लैजाने, मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषको लाइन बस्नुपर्नेलगायत मतदान गर्ने उम्मेद्वारको पहिचान गरी स्वस्तिक चिन्हृद्वारा मतदान गर्नेलगायत आवश्यक विषयमा प्रेरित गर्ने ढंगबाट स्वयंसेविकाले मतदातालाई शिक्षा दिने उनले जनाए।

मतपत्र बदर कम होस् भनेर आयोगले मतदाता शिक्षाको प्रचारप्रसारका लागि आमसञ्चार माध्यमको पनि प्रयोग गर्ने सुवेदीले जनाए । यसका लागि छिट्टै पत्रकार भेला आयोजना गर्ने योजना सुनाए ।

आगामी स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाता कायम भएको छ।

कास्कीमा दुर्इ लाख २४ हजार आठ सय ११ ले मत खसाल्न पाउनेछन्। यहाँ एक सय ५० मतदान स्थल रहेकोमा दुर्इ सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ। पोखरा लेखनाथ महानगरपालिकामा ९८ स्थलमा दुर्इ सय १० केन्द्र, अन्नपूर्णमा १५ स्थलमा २१ केन्द्र, माछापुच्छ्रेमा १२ स्थलमा २१ केन्द्र, मादीमा १७ स्थलमा २१ केन्द्र र रुपामा आठ मतदान स्थलमा १५ मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचान आयोगले सामान्यतयाः बढीमा एक हजार ५० मतदाता बराबर १ मतदान केन्द्र कायम गर्ने नीति लिएको छ।

- अादर्श समाज सम्वाददाता