अलैंचीको पकेट क्षेत्रको माटोमा अम्लियपन

लमजुङ, ५ बैशाख । लमजुङमा अलैँचीको पकेट क्षेत्रको माटोमा अम्लियपन पाइएको छ । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा भएको माटो परीक्षणबाट त्यस्तो पुष्टि भएको हो ।

माटो परीक्षण कार्य क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराको प्रविधिक सहयोगमा माटो परीक्षण कार्य गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णभद्र अधिकारीले बताए । उनका अनुसार जिल्लाको अलैँचीको पकेट क्षेत्र घोषणा गरिएका बाँझाखेत, भूलभूले र घेर्मु क्षेत्रको माटो परीक्षण गरिएको हो ।

ती गाउँका ९७ जना अलैँचीका व्यावसायिक किसानले आ-आफ्नो बारीको माटो परीक्षणका लागि ल्याएको जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत रामचन्द्र सेर्ढाईले बताए । उनका अनुसार माटो परीक्षणमा क्षेत्रीय माटो परीक्षण प्रयोगशाला पोखराका वरिष्ठ ल्याव प्राविधिक टीकादत्त घिमिरे र हरिराम श्रेष्ठ सक्रिय थिए ।

उनीहरूले माटोमा खाद्य तत्व, नाइट्रोजन, फस्फोरस, पोटास तथा क्षारियपनमा अम्लियपन बढी भेटिएको जानकारी दिए । अब ती क्षेत्रमा एमोनिया चुनाको प्रयोग गर्नु पर्ने सल्लाह उनीहरूको छ । उक्त कार्यमा जिल्ला कृषि विकास कार्यालयका अन्य प्राविधिक सूर्यकान्त अधिकारी र सूर्यप्रसाद सेर्ढाई, खुदी सेवा केन्द्रका प्रमुख बुद्धिबहादुर बानियाँले सहयोग गरेको अलैँचीको पकेट क्षेत्रका संयोजक अजय तामाङले जानकारी दिए ।

- अादर्श समाज सम्वाददाता