युनाइटेड क्लबद्वारा सेती नदी संरक्षण अभियान शुरु

पोखरा, ५ वैशाख। विभिन्न सामाजिक काममा अग्रसर युनाइटेड क्लब पोखरा सेती नदी संरक्षणमा जुटेको छ। क्लबले सेती नदी संरक्षण कार्यक्रमअन्तर्गत सरसफाइ अभियान शुरु गरेको हो।

क्लबको सातौं वाषिर्कोत्सव अवसरमा आयोजित साताब्यापी कार्यक्रमअन्तर्गत क्लबले शुरु गरेको सेती संरक्षण अभियानको मंगलबार पोखरा लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले उद्घाटन गरे।

सेती नदी संरक्षणमा खटिने पोखरा फोहोरमैला ब्यवस्थापन प्रालिका यामबहादुर दमाईलाई फोहोर सफा गर्ने सामग्री हस्तान्तरण गर्दै पौडेलले सेती नदी सफाइमा युनाइटेड क्लबले देखाएको चासो सह्राहनीय रहेको बताए । उनले पोखरा लेखनाथ महानगरपालिकाबाट आवश्यक पर्ने सहयोग गर्न आफू तयार रहेको बताए।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले क्लबले पाँचौ संस्करणको पोखरा महोत्सवबाट सेती नदी संरक्षणका लागि महोत्सवमा आउने दर्शकको प्रतिटिकटबाट एक रुपैयाँ संकलन गरी जम्मा गरेको रकमले सेती संरक्षणको कार्यक्रम गरिएको बताए।

सेती नदी संरक्षण कार्यक्रमका संयोजक तथा युनाइटेड क्लबका महासचिव राजु श्रेष्ठले नदी संरक्षणका लागि संकलन भएको रकमबाट खर्च हुने गरी चाइनापुल वरपरको सेती नदी सफाइ गरिने बताए।

त्यसका लागि क्लबले पोखरा फोहोरमैला ब्यवस्थापन प्रालिलाई जिम्मा लगाएको र प्रालिले १० दिनमा चाइनापुल क्षेत्र सफाइ गर्ने उनले जानकारी दिए।

क्लबको साताब्यापी कार्यक्रमका संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले सेती संरक्षणमा युनाइटेड क्लबको मात्र नभइ सम्पूर्ण पोख्रेलीको दायित्व रहेको बताउँदै क्लबको अभियानअन्तर्गत चाइना पुल क्षेत्रमा सेती संरक्षणसम्बन्धी विभिन्न होडिङवोर्डहरु राख्ने बताए।

क्लबका अध्यक्ष सुकबहादुर गुरुङले सेती नदी सिंगो पोख्रेलीको गहना भएकाले यसलाई दुर्गन्धित हुनबाट बचाउन सबैले पहलकदमी थाल्नुपर्नेमा जोड दिए।

नदी सरसफाइको जिम्मा पाएको पोखरा फोहोरमैला ब्यवस्थापन प्रालिका यामबहादुर दमाइले आफूले नदीको सरसफाइका लागि विभिन्न संघसस्थासँग सहकार्य गर्न तत्परता देखाउँदा कोही कसैले चासो नदेखाएकोमा क्लबको अगुवाइमा सरसफाइ गर्न पाउँदा निकै हषिर्त रहेको बताए।

क्लबले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार वात्स्यायन वृद्धाश्रमलाई सहयोग गरेको छ। क्लबलेे वृद्धाश्रममा सहयोग रकम हस्तान्तरण गर्नुका साथै वृद्धवृद्धालाई फलफूल वितरण गरेको कार्यक्रम संयोजक सावित्री थापाले जानकारी दिइन्।

कार्यक्रममा वृद्धाश्रमका उपाध्यक्ष रेशम जिसीले क्लबले सामाजिक क्षेत्रमा पुर्‍याएकोे योगदान महत्वपूर्ण रहेको बताए। २०६८ सालमा स्थापना भएको वृद्धाश्रममा हाल १४ जना वृद्धवृद्धा आश्रति छन्।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइेटड क्लबले स्थापनाकालदेखि नै चिडियाखाना निर्माणको अभियानमा लागेको जानकारी दिँदै बिहीबार क्लबको वाषिर्कोत्सवको अवसर पारी चिडियाखाना उद्घाटन गरिने बताए।

क्लब अध्यक्ष सुकबहादुर गुरुङले क्लबले स्थापनाकालदेखि नै सामाजिक काममा अगाडि बढेको जानकारी दिए।

क्लबले बैशाख ६ मा महेन्द्र मावि लामाचौर घार्मीमा छात्रवृद्धि अक्षयकोष स्थापना कार्यक्रम र ७ गते पोखरा लेखनाथ ३१ पचभैयामा चिडियाखाना निर्माणको लागि रकम हस्तान्तरण तथा प्रस्तावित अन्तर्राष्ट्रिय चिडियाखानाभित्र निर्माण सम्पन्न तथा वन्यजन्तु उद्धार केन्द्र उद्घाटन र साझ अमरसिंहचोकमा दीप प्रज्ज्वलन कार्यक्रम गरिने साताव्यापी कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले जानकारी दिए।

- एजेन्सी