नारायणगढ-मुग्लिन सडक खण्ड पहरोमा विस्फोट गराउन माग

चितवन, ४ वैशाख। सडक विस्तारको काम भइरहेको नारायणगढ-मुग्लिन सडक खण्डको पहरो भएको ठाउँमा बिस्फोट गराउन निर्माण कम्पनीले माग गरेको छ।

मुग्लिन नजिक रहेको कडा चट्टानसहितको पहरो अन्य प्रविधिबाट काट्न कठिन भएपछि निर्माण कम्पनीले बिस्फोट गराउन माग गरेको हो। नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार उक्त क्षेत्रको निर्माण गर्दै आएको सुप्रिम रौताहा जेभिले आयोजनाको परामर्शदाता कम्पनीलाई उक्त आग्रहसहितको पत्र बुझाएको हो।

नारायणगढबाट ३३ दशमलव ६३ किलोमिटरदेखि एक सय मिटर लम्बाई क्षेत्रमा पहरो काट्न निकै कठिन भएको भन्दै विस्फोटका लागि अनुमति माग गरिएको हो।

बिस्फोट गर्न अनुमति माग गरिएको क्षेत्रमा झण्डै ८० मिटर अग्लो पहरोसहितको पहाड छ।

त्रिशूली नदीतर्फ पनि सिधा ठाडो भिर रहेको छ। उक्त क्षेत्रमा सडक पाँच दशमलव पाँच मिटरमात्रै चौडा  छ। जहाँ नौ मिटर फराकिलो सडक बनाउनु पर्ने हुन्छ। परामर्शदाता कम्पनीले अध्ययन गरी विस्फोट गर्न उपयुक्त देखिएमा आयोजनालाई सिफारिस गर्नेछ। सोपश्चात आयोजनाले विभागमा सिफारिस गरी स्वीकृत भएमा सुरक्षा निकायसँग समन्वय गरेर काम अघि बढाइने खनालले बताए।

उक्त क्षेत्रमा बिस्फोट गराउन भने चुनौतीपूर्ण छ। विस्फोट गर्दा पूरै पहाड खस्न सक्ने, बिस्फोटको असरले पटकपटक पहिरो जान सक्ने, बिस्फोट गराउँदा लामो समय यातायात बन्द गराउनु पर्ने, बिस्फोटबाट उछिट्टएिका ढुंगा त्रिशूली नदीमा पुग्नेलगायत समस्या रहेको खनालको भनाइ छ।

उता, निर्माण कम्पनीले भने बिस्फोट गराउन नपाए समयमा काम सम्पन्न गर्न कठिन हुने जनाउँदै आएको छ।

यसअघि, निर्माण कम्पनीको मागअनुसार परामर्शदाताले क्यान्टिलिवर पद्दतिबाट सडक फराकिलो बनाउन अनुमति दिइसकेको छ। क्यान्टिलिबर पद्दतिबाट एक दशमलव पाँच मिटर सडक चौडा गर्न आयोजनाले अनुमति दिइसकेको छ। मुग्लिनबाट नारायणगढतर्फ एक किलोमिटर क्षेत्रमा करिब दुर्इ सय ५० मिटर लम्बाईमा क्यान्टिलिबर पद्दतिबाट काम गर्न अनुमति दिइएको हो।क्यान्टिलिवरले पनि नौ मिटर पुर्‍याउन कठिन हुने भएपछि बिस्फोटको माग गरिएको निर्माण कम्पनीले जनाएको छ। उक्त सडकखण्ड हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

- अादर्श समाज सम्वाददाता