गृहमन्त्रीको ट्वीटले निर्वाचन आयोग चकित

काठमाडौं, ४ वैशाख। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई लिएर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले गरेको ट्वीटप्रति आर्श्चर्य व्यक्त गरेको छ।

निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य आयोगबाट करिब पूरा हुन लागेको अवस्थामा गृहमन्त्रीको धारणा सार्वजनिक हुँदा निर्वाचनको विषयमा जनमानसमा भ्रम सिर्जना हुन सक्ने भन्दै गृहमन्त्रीको भनाइप्रति अपत्ति जनाएको छ।

गृहमन्त्री निधीले सोमबार बिहान २ बजेतिर सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै निर्वाचन आयोग र सुरक्षा व्यवस्थाले मात्र निर्वाचन हुन नसक्ने भन्दै निर्वाचन सफल राजनीतिक वातावरणका लागि दलहरुबीच वार्ता आवश्यक रहेको भनाइ सार्वजानिक गरेका थिए। गृहमन्त्रीको ट्वीटप्रति समाजका विभिन्न व्यक्तिहरुले समेत विरोध जनाएका छन्।

आयोगले पनि सोमबार नै विज्ञप्ति जारी गर्दै ‘गृहमन्त्रीले गर्नु भएको ट्वीटले निर्वाचन आयोगको कामकारबाहीप्रति आमजनमानसमा द्विविधा उत्पन्न भएकोले ट्वीटमार्फत् व्यक्त भएको अभिव्यक्तिप्रति आयोग आर्श्चर्यचकित भएको जनाएको हो।’ आयोगको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन पूर्वनिर्धारित समयमै सम्पन्न गराउने कुरामा विश्वस्त रहन आयोगले आग्रह गरेको छ।

आयोगले चुनावका लागि अहिलेसम्म भएका कामकारबाहीबारे पनि जानकारी दिएको छ । मतदाता परिचयपत्र छपाई गर्ने कार्य अन्तिम चरणमा पुगेको, मतदाता नामावली सार्वजनिक भइसकेको, एक करोड ६० लाख थान मतपत्र जनक शिक्षा समग्री केन्द्रबाट छपाइ भइरहेको र ७ गतेभित्र सम्पूर्ण मतपत्रको छपाई कार्य पूरा हुने अवस्थामा रहेको आयोगले जनाएको छ।

निर्वाचन सामग्री जिल्लामा पठाउने शुरु भइसकेको जानकारी गराउँदै वैशाख दोस्रो हप्तादेखि मतपत्र ढुवानी शुरु हुनेसमेत बताएको छ।

‘निर्वाचनसँग सम्बन्धित ऐनहरुको निर्माणपश्चात् आयोगबाट नियमावलीहरु तथा निर्देशिकाहरुको तर्जुमा गरिसकिएको तथा मतदाताको अन्तिम मतदाता नामावली तयार गरी आयोगको वेवसाइट समेतमा राखी सकिएको व्यहोरा विदितै छ’-विज्ञप्तिमा भनिएको छ।

मतदाता परिचयपत्र छपाई गर्ने कार्य अन्तिम चरणमा रहेको तथा निर्वाचनका लागि आवश्यक पर्ने एक करोड ६० लाख थान मतपत्र जनक शिक्षा समाग्री केन्द्रबाट छपाई भइरहेको र शुक्रबारभित्र सम्पूर्ण मतपत्रको छपाई कार्य पूरा हुने विज्ञप्तिमा जनाएको छ।

विभिन्न प्रकारका निर्वाचन सामग्री जिल्ला पठाउने कार्य गत आइतबार शुरु भइसकेको, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिइने अभिमुखीकरण तालिम विभिन्न सात ठाउँमा सम्पन्न गरी आइतबारबाटै ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ’- आयोगको विज्ञप्तिमा भनिएको छ।

आगामी बैशाख १२ गतेसम्म प्रत्येक स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने कार्यक्रम निश्चित भइसकेको र वैशाख दोस्रो हप्तादेखि मतपत्र ढुवानी गर्ने कार्य-योजना रहेको पनि आयोगले जनाएको छ। मतदाता शिक्षा तालिम कार्यक्रम मुलुकभर सञ्चालन भइरहेको, निर्वाचनको सम्पूर्ण व्यवस्थापन गर्ने कार्य करिब पूरा भएको दाबी आयोगको छ।

निर्वाचनमा शान्तिसुरक्षा कायम गर्ने/गराउने दायित्व र जिम्मेवारी नेपाल सरकारको भएको र सो सम्बन्धमा नेपाल सरकारबाट आयोगलाई पटक पटक आश्वस्त पारेको स्मरण गराउँदै स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न/गराउन आयोग पूर्णरुपमा प्रतिबद्ध रहेको समेत आयोगले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

- अादर्श समाज सम्वाददाता