राष्ट्रपति भण्डारी नयाँ दिल्लीमा

काठमाडौ, ४ वैशाख । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेकी छन्।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेकी थिइन्।

विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि भण्डारीलाई स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी विमानस्थलबाट आतिथ्य दिइएको भारतीय राष्ट्रपति भवन पुगेकी छन्।

त्यसअघि राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी र्घर्ती, उपप्रधानमन्त्री एवं संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायत ३४ जनाको सहभागिता रहेको छ।

यसैबीच, सर्वत्र विरोधपछि राष्ट्रपति विद्यादेवी भण्डारी भारतको राजकीय भ्रमण गरी स्वदेश फर्किने भनिएको दिन वैशाख ८ गते सार्वजनिक बिदा नहुने भएको छ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीबाट भारतको राजकीय भ्रमण पूरा गरी स्वदेश र्फकने दिनमा सार्वजनिक बिदा नहुने जनाएको छ।

यसअघि, आइतबार गृह मन्त्रालयले विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश र्फकने दुबै दिन सार्वजनिक बिदा दिने जनाएको थियो।

- अादर्श समाज सम्वाददाता