मनाङमा निर्वाचन तयारी तीव्र

लमजुङ, ४ वैशाख। स्थानीय तहको निर्वाचनको लागि मनाङमा तयारी तीव्र पारिएको छ।

त्यसका लागि निर्वाचन अधिकृतको कार्यालयको स्थापना, मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिएर खटाउने कार्य भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रामप्रसाद पौडेलले बताए।

उनका अनुसार जिल्लामा २८ मतदान केन्द्र छन्। ती सबैमा एक/एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवक खटाइएको छ। तीमध्ये २५ जना महिला छन्।

बैशाख १२ गतेसम्म सबै मतदान केन्द्रमा मतदान अधिकृत खटाउने तयारी भएको पौडेलले बताए।

उनका अनुसार मनाङमा कुल पाँच हजार एक सय १५ जना मतदाता छन्। त्यो संख्यामध्ये पनि निर्वाचन आयोगबाट अन्तिम भएर आउन भने बाँकी छ। तीमध्ये महिलाको संख्या दुर्इ हजार छ सय आठ र पुरुष दुर्इ हजार पाँच सय सात जना छन्। चार स्थानीय तह रहेको मनाङमा २८ वडा छन्। गाउँपालिकास्तरमा सबैभन्दा बढी मतदाता नेस्याङ गाउँपालिकामा दुर्इ हजार आठ सय ३७ जना छन् भने सबैभन्दा कम नार फू गाउँपालिकामा तीन सय ६५ छन्।

यसैगरी, जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकामा पाँच सय १५ मतदाता र नासल गाउँपालिकामा एक हजार तीन सय ९८ मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख पौडेलले बताए।

उनले दिएको जनाकारीअनुसार मनाङ जिल्लामा सबैभन्दा बढी मतदाता रहेको वडामा नेस्याङ गाउँपालिका- ५ को भ्राकामा पाँच सय ७३ जना र सबैभन्दा कम चामे गाउँपालिकाको वडा नं ५ मा ३४ जना मात्र मतदाता रहेका छन्।

यतिबेला म्यादी प्रहरीलाई तालिम दिने कामसमेत भइरहेको र अन्य आवश्यक तयारीमा आफूहरू लागि रहेको पौडेलले बताए।

मनाङको नेस्याङ र नासलमा नौ/नौ वटा वडा र चामे र नारफूमा पाँच/पाँच वटा वडामा विभाजन गरिएको छ। ती सबै गाउँपालिका र वडामा गरी कूल एक सय ५० जना जनप्रतिनिधि चयन हुने भएका छन्।

- अादर्श समाज सम्वाददाता