विष्णुपादुका, लेकसाइड र सहारा क्वाटरफाइनलमा

पोखरा, २ वैशाख। हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा विष्णुपादुका, लेकसाइड र सहारा क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

शनिबार भएको पहिलो खेलमा विष्णुपादुका क्लब हेमजाले रञ्जन मेमोरियल फुटबल क्लब लामाचौरलाई ४-२ गोलअन्तरले पराजित गर्‍यो। विष्णुपादुकाको तर्फबाट अजय श्रेष्ठले दुर्इ, रोशन केसी र अशोक नेपालीले एक/एक गोलको योगदान दिए।

रञ्जन मेमोरियलबाट किशोर गुरुङ र आगमन खड्काले एक/एक गोल गरे। खेलमा म्यान अफ दि म्याच विष्णुपादुकाका अजय श्रेष्ठ घोषित भए।

यस्तै, दोस्रो खेलमा लेकसाइड युथ क्लबले इन्द्रेणी एकीकृत विकास केन्द्रलाई ८-० गोलअन्तरले पराजित गर्‍यो। उक्त खेलमा लेकसाइड युथ क्लबको तर्फबाट म्यान अफ दि म्याच सुभाष गुरुङ र सञ्जय बुढाथोकीले हृयाटि्रक गर्दा सुनिल विक र विवेक क्षेत्रीले एक/एक गोल गरे। खेलमा लेकसाइडका रोशन हिराचन र इन्द्रेणीका सन्तोष गुरुङले रेडकार्ड खाँदै मैदानबाट बाहिरिए। अन्तिम खेलमा सहारा क्लबले एपिएफलाई ८-१ को फराकिलो गोलअन्तरले पराजित गर्‍यो। खेलमा सहारा क्लबको तर्फबाट म्यान अफ दि म्याच एलेक्स चार, विके लामा दुर्इ, कमल थापा र नज थापाले एक/एक गोल गरे। एपिएफ तर्फबाट प्रवीण गोदारले सान्त्वना गोल गरे।

आइतबार पहिलो खेल गार्डेन एफसी र भदौरे युवा क्लब तथा दोस्रो खेल एलजी एशोसिएसन र हाम्रो हिमशिखर क्लब फेदीखोला स्याङ्जाबीच हुने क्लबका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्।

विजेताले एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ।

- अादर्श समाज सम्वाददाता