महोत्सवमा पर्यटक दौड

पोखरा, ३१ चैत। नयाँ वर्ष अवसरमा पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १४ औं फेवा नव वर्ष महोत्सवअन्तर्गत बिहीबार पर्यटक दौड प्रतियोगितामा भएको छ। ‘रन फर फन’ नाराका साथ भएको प्रतियोगितामा  फ्रान्सका भान जेमी प्रथम भए।

अमेरिकाका बेकर द्वितीय र नेदरल्याण्डका जुरियन तृतीय भए।

त्यस्तै, पर्यटक महिलातर्फ अमेरिकाकी एलिसन प्रथम, अमेरिकाकै एस्ले एकोस्टा द्वितीय र अष्ट्रेलियाकी जेन तृतीय भइन्। प्रतियोगितामा हालसम्मकै सबैभन्दा धेरै दुर्इ सय ६० जनाले सहभागिता जनाएको आयोजकको दाबी छ। रसियाका एक जना अशक्त निकोले कोजेन्भिन्कोवले पनि बैशाखीको सहारामा दौड पूरा गरे।  प्रतियोगितामा प्रथमले पोखरा काठमाडौं उडान टिकट उपहार पाए।

आधा घण्टाको प्याराग्लाइडिङ उडानको टिकट दोश्रो पुरस्कार स्वरुप प्रदान गरियो भने तृतीयका लागि पोखरा काठमाडौं यात्राको डिलक्स बस टिकट दिइयो।महिला पुरुष सबै विजेताले मायाको चिनो र विजी वी क्याफेले ककटेल डिनर अवसर प्रदान गरेको छ।संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचन, निवर्तमान अध्यक्ष भरतराज पराजुली, हानका केन्द्रि्रय सदस्य एवं संघका सल्लाहकार विप्लव पौडेल तथा संघका सल्लाहकार गोविन्दराज पहारीले विजेतालाई पुरस्कार प्रदान गरेका थिए। पर्यटक दौडमा यति धेरै पर्यटक सहभागी हुनु पोखराको पर्यटन विकास र प्रवर्द्धनका लागि सकारात्मक पक्ष भएको महोत्सवको पर्यटक दौड उपसमितिका संयोजक ज्याक तामाङले बताए। सहभागीहरु खहरेचोक नजिक होटल प्सि प्लाजा अगाडि बाट तीन किलोमिटर दक्षिणको फिस्टेल गेट सम्म दौडिएका थिए। सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो। सो अवसरमा पञ्चैबाजाको तालमा पर्यटकहरु नाचेर रमाएका थिए।

- अादर्श समाज सम्वाददाता