फेवा नव वर्ष महोत्सव शुरु

पोखरा, २९ चैत।  विभिन्न जातजातिको झाँकी र आमा समूहको र्‍यालीसँगै पोखरामा १४ औं फेवा नव वर्ष महोत्सव शुरु भएको छ।

पश्चिमाञ्चल होटल संघको आयोजनामा लेकसाइडको खहरेचोकबाट निस्केको झाँकीसहितको र्‍याली महोत्सवस्थल कोमागानेपार्क पुगी उद्घाटन समारोहमा परिणत भएको थियो।

होटल संघ नेपालकी वरिष्ठ उपाध्यक्ष श्रृजना राणाले महोत्सव उद्घाटन गर्दै महोत्सवले पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको बताइन्।

उनले पर्यटन प्रवर्द्धनको अभियानमा होटल संघ नेपाल पश्चिमाञ्चल होटल संघ पोखरासँंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताइन्।

अहिले नेपालका होटलको अकुपेन्सी दर ६० प्रतिशत वरपर रहेको बताउँदै उनले होटलको निर्माण दर बढ्दै जाँदा पर्यटक नपुग्ने हो कि भनी चिन्ता व्यक्त गरिन्। सन् २०२० सम्म चार हजार नयाँ कोठा थपिने तर सोअनुसार पर्यटक बढाउन भारत र चीन जस्ता छिमेकमा प्रवर्द्धनका कार्यक्रम लैजानुपर्ने आवश्यकता उनले औंल्याइन्।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले नेपाली संस्कृति तथा फेवा तालको संरक्षण गर्दै आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिए। विभिन्न विषम परिस्थितिमा पनि संघले महोत्सवलाई निरन्तरता दिं’दै आएको बताउँदै उनले महोत्सवमा सहभागिताका लागि सबैसँग आहृवान गरे।महोत्सवमा खानाका परिकार तथा अन्य व्यापारिक गरी ६० स्टल राखिएको छ। स्थानीय र पर्यटक गरी एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको संघका महासचिव एवं प्रचारप्रसार उपसमितिका संयोजक गणेशराज पहारीले जानकारी दिए। महोत्सवमा डुंगा दौड, पर्यटक दौड, एकल नृत्य र गीत संगीतका कार्यक्रम समेटिएको छ।

यस्तै, झाँकी प्रतियोगितामा नेपाल मगर संघ प्रथम, नेवा कचः खल बैदाम दोश्रो र किराँत सेवा समाज तेश्रो भए। झाँकीमा २६ समूह सहभागी थिए।

यसैगरी, आमा समूहको प्रतियोगितामा बंगलादी आमा समूह, खहरे आमा समूह र क्षत्री महिला समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

प्रमुख अतिथि राणाले विजयी समूहहरुलाई पुरस्कार प्रदान गरिन्। उनले होटल संघ पोखराको टेवल क्यालेण्डर पनि विमोचन गरिन्।

उद्घाटन कार्यक्रममा होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुली राष्ट्रिय पर्यटन परिषद्का सदस्य वासुदेव त्रिपाठी, नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख उदय भट्टराई, पीटीआरसीका संयोजक गणेशबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा नागरिक मञ्च समन्वय समिति बैदामकी संयोजक विष्णु केसी र होटल संघ पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले महोत्सव सफलताको शुभकामना मन्तव्य राखेका थिए।

गोर्खा ब्रुअरीले मुख्य प्रायोजनमा नयाँ वर्ष अवसरमा भएको महोत्सव बैशाख २ सम्म चल्नेछ।

- अादर्श समाज सम्वाददाता