मसिना पर्यटन सहकारी हाईड्रोपावरको अभियानमा

लेखनाथ, २२ चैत। शेयर सदस्यहरुबाट संकलित रकमलाई आय आजर्नको क्षेत्रमा लगानी गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ को तल्लोगगनगौंडामा रहेको मसिना पर्यटन सहकारी संस्था हाईड्रोपावर निकाल्ने अभियानमा जुटेको छ।

स्थापना कालदेखि हालसम्म भएका कार्यहरुको जानकारी गराउने उद्देश्यले सोमबार राखेको पत्रकार भेटघाट कार्यक्रममा सहकारीका सचिव विष्णु तिवारीले २०६९ फाल्गुण २१ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आएको सहकारीले आठ सय ९१ किलोवाट विद्युत निकाल्ने तयारीमा रहेको बताएका हुन्।

विगतका वर्षहरुमा मसिना  क्षेत्रमा अवैध रुपमा ढुँगा गिटी, वालुवा चोरी, रुख कटानी रोक्नका लागि यस क्षेत्रका बासिन्दाहरुले त्यस क्षेत्रको संरक्षण गर्दै, भूक्षय रोक्न, पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तत्कालीन अवस्थामा विशेष समिति गठन गरी विकास गर्ने लक्ष्यका साथ अगाडि बढेको बताइएको छ।

संस्थाले हाईड्रोपावर निकाल्नका लागि दर्ता प्रक्रिया पूरा गरी डिपि आरको चरणमा रहेको र आगामी पाँच छ महिनाभित्र काम नै शुरु गर्ने संस्थाका अध्यक्ष प्रशान्तराज धमलाले जानकारी दिए।

संस्थाले हालसम्म एक हजार १२ जना शेयर सदस्यहरुबाट करिव तीन करोड संकलन गरि सकेको छ भने आगामी वैशाखदेखि पुनः पाँच सय शेयर सदस्यबाट ५० हजारका दरले शेयर आह्वान गरी पूँजी वृद्धि गर्ने लक्ष्य राखेको छ।

संस्थाको कार्यक्षेत्र साविक लेखनाथ नगरपालिका, सिद्ध, देउराली, थप्रेक र शुक्ला गण्डकी नगरपालिका तनहुँसम्म रहेको छ।

सहकारीले लिएको लक्ष्य अनुसार उक्त क्षेत्रमा छ मिटर लामो र १५ मिटर गहिराइको मानव निर्मित ताल निर्माण हुन र त्यस क्षेत्रमा पर्यटकीय गतिविधिलाई बढाउने गरी माछापालन, होटल निर्माण, भूक्षय रोकिने, शुक्ला गण्डकी क्षेत्रमा सिँचाई, वराह मन्दिरको निर्माण गर्ने, व्यापार व्यवसायको विकास र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसमेत राखिएको बताइएको छ।

- अादर्श समाज सम्वाददाता