खैरेनीटार महोत्सव शुरु

खैरेनीटार, २१ चैत। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा नवौं खैरेनीटार महोत्सव शुरु भएको छ। सरस्वती नमुना माध्यमिक विद्यालयको प्रा·ण खैरेनीटारमा शुरु भएको महोत्सव बैशाख २ गतेसम्म चल्नेछ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष सञ्जिवबहादुर कोइरालाले महोत्सवले धार्मिक पर्यटकीय ठाउँको प्रचार प्रसार गर्नुपर्ने बताए।

उनले उद्योगको करिडोरको सम्भावना रहेको यस ठाउँको उद्योग वाणिज्य संघ पनि नगर स्तरीय हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोख्रेलले यस क्षेत्रको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन चुनावपछि कार्यलाई अगाडि बढाउने बताए। उनले सार्वजनिक काममा आफूले साथ दिने बताए।

शुक्लागण्डकी नगरपालिकाका संयोजक महेश्वर भट्टराई, नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका संयोजक रामचन्द्र उपाध्याय, एमाओवादी केन्द्रका शुक्लागण्डकी नगर अध्यक्ष पर्शुराम शर्मा भण्डारी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संरक्षक कृष्णराज पण्डित, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष देवकुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैहृेे, महोत्सवका निर्देशक हरिकुमार श्रेष्ठ, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, महोत्सवका आर्थिक निर्देशक समुन्द्रराम श्रेष्ठलगायत बोलेका थिए।

कार्यक्रममा एक सय ४५ वटा झाँकी बजार परिक्रमा गरेर महोत्सव स्थल प्रवेश गरेका थिए। ‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, खैरेनीटार महोत्सव कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ सञ्चालित नवौं खैरेनीटार महोत्सवका प्रवक्ता हरिबहादुर थापाले महोत्सव अवधिभरमा पाँच करोडको आर्थिक कारोवार हुने बताए।

महोत्सवमा राजु परियार, राजन कार्की, शंकर पन्त, जानकी तारमी मगरलगायतको प्रस्तुति रहने महोत्सवका कलाकार व्यवस्थापन तथा निर्णायक समितिका सदस्य उपेन्द्र तिम्सिनाले जानकारी दिए।

तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइका सभापति तथा महोत्सवका मूल संयोजक अर्जुन कुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा महोत्सवका प्रवक्ता तथा खैरेनीटार बजार इकाइका निवर्तमान सभापति हरिबहादुर थापाले स्वागत तथा सञ्चालन सचिव पूर्णबहादुर कायस्थ, विष्णु श्रेष्ठ र नेत्रपाणि बास्तोलाले गरेका थिए।

महोत्सवमा शुक्ला खरायो पालन समाज, शुक्लागण्डकी-५ को खरायो स्टलमा दर्शकको आकर्षण देखिएको छ।

शुक्लागण्डकी खरायो पालन समाजका अध्यक्ष धर्मराज पौडेलका अनुसार सानो लगानीमा खरायो पालनबाट आर्थिक वृद्धि गर्न सम्भव हुने तथा यसको मासु बाथ, यूरीक एसिड, दम, प्रेसरका रोगीहरुको लागि अति उपयोगी हुनेछ।

महोत्सवको बुधबार मिलन लामा कृष्ण देवकोटा, शिवहरि ढुंगाना, सम्झना भण्डारी, सावित्रा जोशी माया गुरुङ तथा खासखुस यूनिट मधेसी र पहाडीयाको प्रस्तुति समेत रहनेछ।

- अादर्श समाज सम्वाददाता