आजदेखि गैंडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जबाट सोमबार दुर्लभ एकसिंगे गैंडा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ।

सरकारले गत वर्ष चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैंडा शुक्लाफाँटामा पाँच र बर्दिया राष्ट्रिय निकुञ्जमा २५ गरी ३० वटा स्थानान्तरण गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णय अनुसार गत वर्ष पाँच वटा गैंडा बर्दिया स्थानान्तरण गरिएको थियो। यस वर्षको पहिलो चरणमा शुक्लाफाँटामा पाँच गैंडा स्थानान्तरण प्रक्रिया शुरु भएको हो।

गैंडा स्थानान्तरणका लागि चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रमा क्याम्प खडा गरी रेकिको काम शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए।

कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट आठ किलोमिटर पश्चिममा रहेको सुखीभारमा क्याम्प खडा गरिएको छ। गैंडा समाउन प्रयोग गरिने ३० वटा हात्ती, ३० जना माउते, ३० जना पछुवा र निकुञ्जका १० कर्मचारी आइतबारदेखि शुखिभारमा रहेका छन्। कँडेलका अनुसार कर्मचारीहरुले गैंडाको वासस्थानको खोजी गरी र्डार्टका लागि उपयुक्त ठाउँको पहिचान गर्दै छन्।

पशु चिकित्सकले लठ्याउनका लागि गैंडालाई र्डार्ट गरेपछि करिव दुर्इ मिनेटसम्म गैंडा अनियन्त्रित बन्ने बताउँदै कँडेलले नजिक पानी नभएको समथल ठाउँको खोजी भइरहेको बताए।

गैंडा फेलापरेपछि हात्तीले घेराहाली उपयुक्त ठाउँमा पुर्‍याइन्छ। गैंडा लठ्याउन र्डार्ट गरिन्छ। बन्दुकमा गोलीको रुपमा सिरिञ्जमा औषधी भरेर गैंडालाई हानिन्छ। उक्त सिरिञ्ज गैंडाको शरीरमा खोपिएपछि सिरिञ्जमा भएको औषधी गैंडाको शरीरमा फैलिन थाल्छ। जसले गैंडालाई लठ्याउने काम गर्दछ। लठ्ठीएको गैंडालाई काठको खोरमा राखेर ट्रकभित्र राखी स्थानान्तरण गरिन्छ।

गैंडा स्थानान्तरणका लागि हात्तीका माउते, पछुवा, निकुञ्जका कर्मचारी, नेपाली सेना, दातृ संस्थाहरु, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटीलगायतका प्रतिनिधि गरी करिब एक सय जना परिचालन हुने निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए।

सोमबार बिहान सबेरै क्याम्पको हात्तीसारमा वनदेवीको पूजा गरेर गैंडा नियन्त्रणको काम थालिने सहायक संरक्षण अधिकृत अर्यालले बताए।

पहिलो दिन कम्तीमा दुर्इ वटा गैंडा नियन्त्रणमा लिएर पठाउने तयारी गरिएको छ। यसपटक चार पोथी र एक भाले गैंडा शुक्लाफाँटा पठाइँदै छ। अर्ध वयस्क र वयस्क गैंडा पठाउने तयारी गरिएको छ।

बढीमा १० वर्षसम्मको गैंडा पठाइने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए। गैंडा पठाउनका लागि तीनवटा खोर तयार पारिएको छ।

गैंडा शुक्लाफाँटा लैजाने र शुक्लाफाँटाबाट त्यही खोरमा बाहृसिंगे चितवन ल्याउने तयारी गरिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

गैंडा र्डार्ट गर्ने प्राविधिक टोलिले नै वाहृसिंगे ल्याउने हुदाँ सबै गैंडा पठाएपछि सँगै गएर गैंडा लगेकै खोरमा वाहृसिंगे ल्याउने तयारी गरिएको कँडेलले बताए।

यसअघि सन् २००० मा शुक्लाफाँटामा चितवनबाट चार वटा गैंडा स्थानान्तरण गरिएको थियो।

हाल शुक्लाफाँटामा नौ वटा गैंडा रहेका छन्। चितवनबाट लगिएपछि शुक्लाफाँटामा गैंडाको संख्या १४ पुग्नेछ। शुक्लाफाँटामा गैंडाको लागि आवश्यक घाँसे मैदान, पानी र उचित बासस्थान रहेकाले स्थानान्तरण गर्न लागिएको निकुञ्जले जनाएको छ।

गतवर्षको फागुनमा चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाँच वटा गैंडा स्थानान्तरण गरिएको थियो। अघिल्ला वर्षहरुको अनुभव र बासस्थानको अध्ययन गरेर बाँकी २५ गैंडा स्थानान्तरण गरिने कार्यक्रम रहेको छ। यस वर्ष पनि थप पाँच गैंडा बर्दिया स्थानान्तरण हुन सक्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

सरकारले एकै स्थानमा रहेका वन्यजन्तुलाई फरक फरक स्थानमा स्थानान्तरण गर्दै आएको छ। महामारी रोगबाट बचाउन र प्रजातिमा विविधता ल्याउन स्थानान्तरण आवश्यक रहेको निकुञ्ज विभागले जनाएको छ। दुर्इ महिना अघि कोशी र सदर चिडियाखानाबाट १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ।

- अादर्श समाज सम्वाददाता