फुटसलको उपाधी ग्लोबल सिटीलाई

पोखरा २०, चैत। पोखरामा सम्पन्न तेश्रो अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा ग्लोबल सिटीले हात पारेको छ।

ग्लोबल सिटीले लायन्स क्लब अफ पोखरा सुन्दर नगरीलाई ट्राईवेकरमा २-० ले पराजित गर्दै उपाधी हात पारेको हो।

उपाधीसँगै ग्लोबल सिटीले २५ हजार रूपैया नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता बनेको पोखरा सुन्दर नगरीले भने १५ हजार नगदसहित शील्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगितामा सुन्दर नगरीका राजु गुरुङ उत्कृष्ट खेलाडी हुन सफल भए भने ग्लोबलका राजेश केसी उत्कृष्ट गोलरक्षक घोषित भए।

त्यस्तै प्रतियोगितामा सुन्दर नगरीका सुशिल लम्साल र लायन्स क्लब अफ मुनालका ठाकुर गुरुङले समान ७/७ गोल गर्दै हाईस्कोरर घोषित हुदा आयोजक लायन्स क्लब अफ हेमजा पहेलोले फेयर प्ले अवार्ड प्राप्त गर्‍यो। उनीहरू सबैले एक-एक थान लाभा मोबाइल प्राप्त गरे।

विजयी टोली र खेलाडीलाई पिएमसिसि लायन दिपक श्रेष्ठले पुरस्कार प्रदान गरेको आयोजक क्लबका सचिव दुर्गाप्रसाद पौडेलले जानकारी दिए।

- अादर्श समाज सम्वाददाता