हास्यव्यङ्ग्यमा रमाए लमजुङबासी

लमजुङ, २० चैत। चर्चित हास्य कलाकार मुन्द्रे, मुलाको साग, तक्मे बुढा र जोगिन्दर, गायिका माण्डवी त्रिपाठीसहित स्थानीय कलाकारको प्रस्तुतिमा लमजुङबासीले भरपुर मनोरञ्जन लिएका छन्।

‘हास्यव्यङ्ग्य कार्यक्रम’ नामक उक्त प्रस्तुति लमजुङ जेसिज र लमजुङ मस्र्याङ्दी युवा क्लबको संयुक्त आयोजनामा भएको हो।

जिल्ला समन्वय समितिको सभाहलमा दर्शकहरूले खचाखच भरिएको उक्त कार्यक्रममा चर्चित हास्यव्यङ्ग्य कलाकार जितु नेपाल उर्फ मुन्द्रे, मुलाको सागका रूपमा परिचित सुरेन्द्र केसी र उनका जोडी जोगिन्दरका नामले परिचित शिवशंकर रिजाल, तक्मे बुढाको प्रस्तुतिमा दर्शक रमाएका थिए।

सो अवसरमा लमजुङ जन्मघर भएकी गायिका माण्डवी त्रिपाठीको पनि प्रस्तुति रहेको थियो। कार्यक्रममा बेसीशहरका लालीगुराँस कला केन्द्र र वर्न टु डान्सका कलाकारहरूको नृत्य प्रस्तुति रहेको थियो।

यसैगरी, जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष राजु अर्यालका साथमा मनोज विकले पनि आफ्नो प्रस्तुति राखेका थिए।

लमजुङ जेसिजका अध्यक्ष लालुमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मस्र्याङ्दी क्लबका उपाध्यक्ष जुन तामाङ धन्यवाद व्यक्त गरेका थिए।

जेसिजका महासचिव सरोज विक, लमजुङ मस्र्याङ्दी क्लबका सचिव प्रकाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा जेसिजको आस्था पाठ संस्थाका कोषाध्यक्ष अनुज अधिकारीले गरेका थिए।

- अादर्श समाज सम्वाददाता