मुस्ताङ र मकवानपुरे किसान टोली नेपाल फर्कियो

मुस्ताङ, २० चैत।  बिपि कोर्इराला इन्डिया नेपाल फाउन्डेसनको सहयोगमा सञ्चालित १५ दिने फुड प्रोशेसिङ तालिममा सहभागी भएको नेपाली टोली स्वदेश फर्किएको छ।

नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्दै धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले फाउन्डेसनले वर्षेनी नेपालका विकट दुर्गम जिल्लामा रहेका गरिब, विपन्न, दलित, आदिवासी, सिमान्तकृत र पिछडिएको वर्गलाई लक्षित गरेर नेपालको कृषि क्षेत्रको प्रवधन तथा विस्तार गर्दे दैनिक आयआर्जनको स्रोत निर्माण गरी उनीहरुको जीविकोपार्जनमा सुधार ल्याउन विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

जैविक तथा अर्गानिक खेती बारे जानकारीका साथै फलफूल तथा तरकारी प्रोसेसिङसम्बन्धी तालिममा सहभागी हुन यसपटक मुस्ताङ र मकवानपुरका किसानहरुको टोली भारतको हरियाणा स्थित सोनिपथ पुगेको थियो।

टोलीमा मुस्ताङबाट अजित थकाली, निमा गुरुङ, निमा वाङ्दी गुरुङ र सुन्दरकुमार थकाली सहभागी भएका थिए।

त्यस्तै, मकवानपुरबाट तारालाल श्रेष्ठ, मखमली श्रेष्ठ, दिलबहादुर गोपाली, आशिका भट्ट, बिजया केसी लगायत ११ जना किसान सहभागी भएका थिए।

सोनिपथ स्थित कृषि विज्ञान केन्द्र जगदिशपुरको कार्यालय भवनमा सञ्चालित फुड प्रोसेसिङमा भारतका वरिष्ठ कृषि विज्ञहरु डा जेके नन्दाल, डा सिवि सिंह, अर्चना चौहानले नेपालबाट सहभागी किसानलाई प्रशिक्षण दिएका थिए।

तालिममा एप्पल जाम, आलुको पापड, जुस, विभिन्न प्रकारका अचारबारे जानकारी दिइएको कार्यक्रम कोअर्डिनेटर रुचि सिंहले जानकारी दिइन्।

किसानहरुको टोलीले सोनिपथ स्थित अटेरनामा सञ्चालित कृषि प्रशिक्षण तालिममा समेत सहभागि भई त्यहाँका कृषकहरु सँग दुर्इ देश बीचको कृषि प्रणालीका बारेमा अनुभव आदान प्रदान गरेको सिंहले बताइन्।

हरियाणाका कृषि विज्ञ कमलसिंह चौहान संयोजक रहेको उक्त १५ दिने सिकाई अभ्यास तालिममा नेपालका कृषकहरुले आफ्ना समस्याहरु राखेका थिए।

तालिमको उद्घाटन नेपाली एम्बिसियर दीपकुमार उपाध्यायकी धर्मपत्नी मिथिला उपाध्यायले गरेकी थिइन्।

सो अवसरमा दुतावासकी सचिव सृजना अधिकारी सम्मिलित थिइन्। त्यस्तै १५ दिने तालिममा सहभागीहरुलाई डा कमलसिंह चौहान, जेके नन्दाल, डा सिवी सिंह र अर्चना चौहानले प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

फुड प्रोसेसिङ अभ्यास तालिममा बनाएका विभिन्न प्रकारका सामाग्रीहरु नयाँ दिल्ली स्थित नेपाली राजदुतावासमा लगेर प्रदशनी गरिएको थियो।

सहभागीहरुले राजदुत दीपकुमार उपाध्याय समक्ष माटो परीक्षणका लागि तालिम र औजार जुर्टाईदिन आग्रह गरेका थिए।

राजदुत उपाध्यायले नेपालमा कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्न थुप्रै कार्यक्रम सार्वजनिक भएकाले सम्बन्धित जिल्ला वा मन्त्रालयसँग समन्वय गर्नुपर्ने बताए।

उनले जिल्लाका किसानहरुलाई कुनै समस्या आईपरे आफूले सक्दो सघाउने आश्वासन दिएका थिए।

त्यस्तै मुस्ताङ र मकवानपुर जिल्लाका किसानहरुको टोलीले नेपाल भारत मैत्री संघको कार्यालयमा पुगेर तालिममा सिकेका अनुभव र उपलब्धि सुनाएका थिए।

सो अवसरमा मुस्ताङका कृषक अजित थकाली, सुन्दरकुमार थकाली र मकवानपुरका कृषक तारालाल श्रेष्ठले तालिममा सिकेका कुरा जिल्लाका कृषकलाई तालिम दिएर सिकाउने प्रतिवद्धता जनाएका थिए।

टोली १५ दिने तालिमपछि शनिबार नेपाल फर्किएको मुस्ताङका कृषक सुन्दरकुमार थकालीले बताए।

- अादर्श समाज सम्वाददाता