चुनावबाट अलग हुनुहुदैन : थापा

पोखरा, १९ चैत।उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको चुनावमा सबै सहभागी हुनुपर्ने र आफ्नो जनप्रतिनिधि छान्न तयार रहन आग्रह गरेका छन्।

संघीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले संविधानमा चित्त नबुझे पनि लगभग २० वर्षपछि हुन लागेको चुनाव बहिष्कार गरेर स्थानीय तहमा जनतालाई प्रत्यक्ष अधिकारबाट वञ्चित गराउन नहुने बताए।

पुन समाज नेपाल केन्द्रीय कार्यालयको पोखरामा शनिबार आयोजित दशौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा थापाले कुनैपनि राजनीतिक दल तथा समूह चुनावबाट अलग हुन नहुने बताए।

‘स्थानीयस्तरको चुनाव भनेको घरमै सरकार ल्याउनु हो’-उनले भने-’हामीलाई पनि संविधानका कतिपय कुरामा चित्त बुझेको छैन। जनताको विश्वास जितेर आफूले चाहेको व्यवस्था स्थापित गराउन सकिन्छ।’

उनले संविधानमा विचार स्वतन्त्रताको ग्यारेण्टी गरेको उल्लेख गरे। ‘राम्रो नराम्रो जस्तो भएपनि देशमा संविधान बनेको छ। कमिकमजोरी छन् तर, यसकै कारण आपसमा झगडा, मारकाट गर्ने कामहरू छाड्नुपर्छ’-थापाले भने।

अको, फरक प्रसंगमा राप्रपाका अध्यक्षसमेत रहेका उनले धर्म र संस्कृतिमाथि अतिक्रमण भैरहेको भन्दै असन्तुष्टि जनाए।

योजनबद्ध र संगठित रूपमा धर्म परिवर्तन गर्ने काम भएको उल्लेख गर्दै नेपालको परम्परागत धर्म र संस्कृतिमाथि आक्रमण भैरहेकाले सबै सजग हुनुपर्ने बताए।

लोभलालच तथा भ्रम फैलाएर सबैभन्दा बढी जनजाति र दलित समुदायलाई धर्म परिवर्तन गराइएको उनको ठहर छ।

अहिले देशको भूभागलाई टुक्राएर अको देश बनाउन विखण्डनकारीहरू सानै समूहमा क्रियाशील रहेको आरोप लगाउँदै थापाले देशमा विदेशीहरूको चलखेल र प्रभाव तीब्र रूपमा बढेर गएको बताए।

नेपाली युवाहरू १० हजार कमाउन विदेशिनुपर्ने बाध्यता रहेको बताउँदै नेपालीका छोराछोरीको नियति नै १२ कक्षा पढ्ने र १८ वर्षको भएपछि अरब, मलेसिया जानुपर्ने बाध्यता रहेको उल्लेख गरे।

आदिवासी जनजाति समूहमा पुन समाज पनि रहनुपर्ने आवाजलाई सकरात्मक रूपले लिएको भन्दै उनले सक्दो सहयोग गर्ने आश्वासन दिए।

देश भित्र रहेका सबै जातजाति तथा आदिवासीको समान विकास हुनुपर्ने उनको धारणा थियो। राष्ट्रको निमार्ण ा एकीकरणको बेलादेखि नै पुन मगरहरूको योगदान रहेको चर्चा गरे।

समाजका संगठन विभागका प्रमुख एवं राप्रपा कास्कीका अध्यक्ष जयलाल पुनले पुन जातिलाई आदिवासी जनजातिमा सूचीकृत गर्नुपर्ने उल्लेख गरे।

पूर्व सहायक मन्त्री उत्तम पुनले राष्ट्रनिर्माणमा पुनलगायत आदिवासी जनजातिको योगदान उच्च रहेको बताए। समाजका केन्द्रीय अध्यक्ष प्रताप पुनको अध्यक्षतामा कार्यक्रम भएको थियो।  दुर्इ दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकका कास्की, म्याग्दी, नवलपरासी, पर्वत, तनहुँ, काठमाडौं, चितवनलगायतका जिल्लाका तीन सय जना प्रतिनिधिको सहभागिता रहेको छ।

- अादर्श समाज सम्वाददाता